पोखराको लेकसाईड–कोकलाई २८०, पानीलाई ९५ रुपैयाँ

पोखरा, भदौ १६ ।
पोखराको लेकसाइड क्षेत्र । बाह्य तथा आन्तरिक पर्यटकको बाह्रै महिना भिड लाग्छ । पर्यटकहरुको पहिलो रोजाइ पनि हो लेकसाईड । त्यसैले यो ठाउँ तुलनात्मक रुपमा महंगो हुनु स्वभाविक हो ।

तर लेकसाइडको मेन्यु हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ–१ बोतल कोकको २ सय ८० र १ बोतल पानीको ९५ रुपैयाँ । अरु ठाउँमा ३५ रुपैयाँमा पाईने कोकको मुल्य लेकसाईडमा मेन्युभित्रै २ सय २५ रुपैयाँ छ । त्यसमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज पनि जोडिन्छ ।

अन्यत्र २० रुपैयाँमा पाईने पानीको मुल्य लेकसाईडका होटल तथा रेष्टुरेण्टका मेन्युमै ७५ रुपैयाँ पर्छ । त्यसमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज जोडिन्छ । मुल्यमा मनपरी भएका कारण उपभोक्ताले बाध्यताबश बढी मुल्य तिर्न बाध्य छन् ।

केहीदिन अघि अनुगमनमा पुगेको जिल्ला अनुगमन टोलिले पनि मुल्य बढी भएको भन्दै कारबाही गर्नुपर्ने सुझाव दिएको थियो । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले ब्यापारीको मनपरी मुल्य उपभोक्ताले तिर्न नसक्ने बताए । उनले जथाभावी मुल्य लिनेलाई प्रशासनले कारबाही गर्नुपर्ने बताएका छन् ।

गुणस्तर र सरसफाईको अुनगमन फाट्टफुट्ट भएपनि मुल्यमा अनुगमन भएको छैन । ‘एउटै बस्तुमा ६ गुणा रेट राख्नुपर्ने कारण के हो लिखित जवाफ दिनुपर्छ, कोइराला भन्छन्–चित्तबुझ्दो जवाफ नआए कालोबजारीको कारबाही खेप्छ । यो गर्नै पाईंदैन ।’

जिल्ला प्रशासन कार्यालयका अधिकृत अनिल शाहीले पनि जथाभावी लिईने मुल्यका बिषयमा छुट्टै अनुगमन गर्नुपर्ने बताए । केही समयभित्रै मुल्यमा हुने मनपरीको अनुगमन र कारबाही हुने उनको भनाई छ ।