पोखराका एकै परिवारमा ७ जनालाई कोरोना संक्रमण

पोखरा, साउन २८ ।
पोखरामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये एकै परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

साउन २१ गते पोखरा नदिपुर विटमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । उनै प्रहरीले खाना खाने आफ्न्तका घरका ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताए ।

कन्ट्याक ट्रेसिङमा परेपछि उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । त्यसै गरी कोरोनाबाट मृत्यु भएका पोखराका पुरुषको सम्पर्कमा आएकाको दोस्रो कन्ट्याक ट्रेसिङमा परेका ४ जनामा कोरोना पुष्टि भएको हो ।

साउन २४ गते मृत्यु भएका पोखरा–१९ का ६२ वर्षे पुरुषको पहिलो कन्ट्याक ट्रेसिङमा परेका ६ जनाको कन्ट्याक ट्रेसिङमा परेका ४ महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको पोखरा महानगरपालिका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

पोखरामा अहिले सम्म १ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १ सय ७ संक्रमित निको भएर घर फर्किसकेका छन् भने १ को मृत्यु भएको छ ।