पार्टी कार्यालयमै देउवा र पौडेल समूहको छुट्टाछुट्टै बैठक
काठमाण्डौं, मंसिर २ ।
नेविसंघको विषयमा सहमति जुट्न नसक्दा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अपरान्ह ५ बज्न लाग्दासम्म चलेन ।
तर पार्टी कार्यालय सानेपामै सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहको छुट्टाछुट्टै बैठक बसेको छ । बैठकमा दुई पक्ष नै नेविसंघलाई कसरी अघि बढाउने भन्ने विषयमा रणनीति बनाउन जुटेको बताइएको छ । नेताहरु भित्र छुट्टाछुट्टै छलफलमा जुट्दा बाहिर नेविसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले तत्काल महाधिवेशनको सुनिश्चितताको माग पार्टी कार्यालय परिसरमा प्रदर्शन गरेका थिए । सो क्रममा कार्यकर्ताहरुले पार्टी सभापति देउवालगायतका नेतृत्वलाई घेराबन्दीमा समेत पारेका थिए ।