पाँचथरमा ९ जनाको विभत्स हत्या–ज्वाईंले मारेको आशंका (घटना विवरण सहित)
पाँचथर, जेठ ८ ।
सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।
सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ ।
राती नै हत्या भए पनि प्रहरीले हत्याबारे बिहान मात्र खबर पाएको थियो । खबर पाएपछि नजिकैको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सामान्य अनुसन्धान गरिरहँदा सोही गाउँपालिकामा अर्को खबर आयो–वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो ।
प्रहरीको एउटा टोली त्यतैतिर सोझियो । प्रहरीले मिक्लाजुङ गाउँपालिका–७ मा एक युवकको झुण्डिएको अवस्थामा शव देख्यो । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो । प्रहरी अनुसन्धानको क्रममा झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको पहिचान भयो–मानबहादुर माखिम । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको खुल्यो ।
प्रहरीका अनुसार घटनामा बाँच्न सफल सीता मानबहादुरको सालीकी छोरी हुन् । सामूहिक हत्या कसले गर्यो भनेर प्रहरीले आधिकारिक रुपमा केही खुलाएको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले आत्महत्या गरेका मानबहादुरले हत्या गरेको हुनसक्ने आधारहरु देखाएका छन् ।
मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही वर्षदेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।
यता, सीताले पनि घटनामा एक जना मात्र आक्रमणकारी देखेको बायन दिएको कारण मानबहादुरले पारिवारिक रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
चार दिनअघि नुनमा सिसा मिसाइएको थियो
हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।
उपाध्यक्ष राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए । केही दिनअघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । एक स्थानीयका अनुसार मानबहादुर पनि त्यहीँ थिए ।
त्यतिबेला उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए । उपाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ ।’
खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् । स्थानीयका अनुसार साना घरेलु विकास कार्यालयबाट प्रशिक्षण दिन आएको टोलीलाई खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो मानबहादुरले मिसाएको भन्दै ससुरा बमबहादुरले आरोप लगाउँदै आएका थिए ।
बमबहादुरले घरमा जो आएपनि खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो मिसाउने मानबहादुर हो भन्दै प्रहरीमा उजुरी हालेर कारबाही गर्नुपर्ने भन्दै आएको ती स्थानीयले बताए । सोमबार साँझ बमबहादुरले घर नजिकै आएका मानबहादुरले सुन्ने गरी सोही कुरा निकाल्दै कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए । यही कारणले रिसको झोकमा सामूहिक हत्या भएको हुनसक्ने स्थानीयको भनाई छ ।
आत्महत्या गरेको नजिकै भेटियो खुकुरी
यता, मानबहादुर झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहिक हत्यामा माखिमको नै संलग्नता हुन सक्ने थप आधार फेला परेको छ । यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।