पर्यटन व्यवसायी महिलालाई कर शिक्षा

 

पोखरा, असोज १० ।

पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं व्यवसायीको दायित्व सम्बन्धि विषयमा प्रशिक्षण दिइएको हो ।

राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले राज्यलाई समृद्ध बनाउन व्यवसायीले कर तिर्नुपर्ने बताए । राज्यलाई तिरेको करबाट देश विकास हुने भएकाले कर छल्नु आर्थिक अपराध भएको उनको भनाइ थियो । राज्यले प्रोत्साहन र दण्डको व्यवस्था गरेकाले विल लिने र दिने वानीको विकास गर्न उनले व्यवसायी महिलालाई आग्रह गरे । अहिले १५ सय अर्बको बजेटमा जम्मा ९ सय ८५ अर्ब राजश्व संकलन लक्ष्य राखिएको जानकारी दिँदै उनले ९ सय ८१ अर्ब चालु खर्च हुने गरेको जानकारी समेत गराए ।

कर कुनै पनि प्रतिफलको आशा नगरी राज्यलाई गर्ने अनिवार्य योगदान भएकाले “ मैले राज्यबाट के पाएँ भनेर भन्दा पनि मैले राज्यलाई के दिएँ भनेर सोच्नु पर्ने” उनले भने ।

कर अधिकत उद्धवराज न्यौपाने कर किन तिर्ने ? कर तिर पछिका फाइदा र कर नर्तिदा हुने वेफाइदाको बारेमा सहजीकरण गरेका थिए । उनले संघीय सरकारलाई तिर्नुपर्ने करको बारेमा जानकारी सँगै प्रदेश र स्थानीय सरकारले लगाउने करका क्षेत्रको बारेमा समेत जानकारी गराए । साना ठुला व्यवसायी करको दायरामा आउन सके राज्यले वैदेशिक ऋणबाट मुलुक चलाउनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो । कर नीतिको बारेमा व्यवसाय र आयआर्जनमा गर्ने सबैले जान्नैपर्ने उनले बताए ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले करको बारेमा राम्रो जानकारी नहुँदा कर प्रति व्यवसायीको सकारात्मक दृष्टिकोण बन्न नसकेको बताइन् । १ दिने प्रशिक्षणले करको विविध विषयको बारेमा राम्रो जानकारी लिन सफल भएको उनको भनाइ थियो ।

कार्यक्रम संयोजक सुशिला सिग्देलले व्यवसाय सञ्चालन गर्ने कति महिलाहरुले करको बारेमा राम्रोसँग नबुझ्दा जरीवाना तिर्नुपर्ने अवस्था सृजना भएको बताइन् । कर नबुझे सम्म एकदम जटिल विषय जस्तो लागे पनि बुझे पछि सहज हुने उनको धारणा थियो ।

तालिममा सहभागिहरुले कर किन तिर्ने त्यसबाट के फाइदा हुन्छ । करका दायरका के के हुन् ? महिलाले व्यवसाय गर्दा हुने कर छुटको बारेमा विविध जिज्ञासाहरु राखेका थिए । व्यवसायी महिलाको जिज्ञासाको जवाफ भने प्रमुख कर अधिकृत उप्रेती र कर अधिकृत न्यौपानेले दिएका थिए ।

तालिमबाट मञ्चका ७० जना व्यवसायी महिला लाभान्वित भएको मञ्चका सचिव उमा भण्डारीले जानकारी दिइन् ।