नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित

काठमाण्डौं, माघ २५ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलोमा रोमाञ्जक जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्न बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो । नेपालको जितमा बसन्त रेग्मीले नायकीय प्रदर्शन गरे । उनले नटआउट २४ रन जोडे । २४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । उनले ४९ ओभरमा एक छक्का र ५० ओभरमा एक चौका प्रहार गरेपछि खेल नेपालको पक्षमा आएको हो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको बेला उनले पहिलो बलमा ४ रन र दोस्रो बलमा २ रन लिएका थिए । तेस्रो बल वाइड भएपछि खेल नेपालले जित्यो । ४९ ओभरमा उनले ६ छक्का हिर्काउँदा नेपालले ९ रन जोडेका थिए ।
त्यसअघि नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोडेर खेलिरहदा खेल वर्षाले रोकिएको हो । वर्षा रोकिएपछि सोमपाल कामी १३ रनमा विलियम्सबाट बोल्ड भए । त्यसपछि मैदान छिरेका सन्दीप लामिछानेले बसन्त रेग्मीलाई गतिलो साथ दिँदा खेल नेपालले जित्यो । सन्दीपले ६ बल खेलेर १ रन जोडे । उनी नै म्यान अफ द म्याच बने । खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ दोस्रो ओभरमै शून्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि मैदान छिरेका कप्तान पारस १९ रन भन्दा बढी जोड्न सकेनन् । पारसले ३५ बलमा २ चौका हिर्काए । ओपनर ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए । उनले ४५ बल खेलेर १ चौका प्रहार गर्न सके। आरिफ शेख शून्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ६ रनमै पेभिलियन फर्के । करण केसीले पनि ३ भन्दा बढी रन जोड्न सकेनन् ।
आसा गरिएका ब्याट्सम्यान शरद भेषावकर २९ रनमा आउट भएका थिए । उनले ६७ बलमा ३ चौका प्रहार गरे । रोहिकुमार पौडेल पनि १७ रन बनाएर खेलिरहँदा स्कोल्सको एलबिडब्लूको धरापमा परे । त्यसपछि सोमपाल कामी र बसन्त रेग्मीले केही आसा देखाएका थिए । बलिङतर्फ नामिबियाका बिएम स्कोल्जले ४ विकेट र क्रियाग विलियम्सले ३ विकेट हात पारे । त्यसअघि एब्लुएपी मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो । बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । उनले ३ विकेट हात पारे। सन्दीपले ८.२ ओभरमा १८ रन खर्चिँदा २ मेडन राखे। सोमपालले ७ ओभरमा ३५ दिए भने १ मेडन फ्याँक्न सफल भए ।
नेपालका लागि सरद भेषावकर,कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट आफ्नो नाममा लेखाए । सन्दीपले महत्वपूर्ण विकेट लिने क्रममा नामिबियाका क्रियाग विलियम्सलाई ४१ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परेका थिए । विलियम्सले नामिबियाका लागि सबैभन्दा बढी रन जोड्ने क्रममा ३४ बल खेलेर ८ चौका प्रहार गरे । यस्तै, सन्दीपले सारेल वर्गरलाई पनि शून्य रनमा एलबिडब्लूकै सिकार बनाए । सन्दीपले बेर्नान्ड स्कोल्सलाई १ रनमा पारसबाट क्याच गराए । सन्दीपले अन्तिम विकेटको रुपमा जेजे स्मिथलाई १८ रनमा कप्तान पारसबाटै क्याच गराएका थिए । कप्तान पारस खड्काले इरासमसलाई शून्य रनमा बोल्ड गरेका थिए । शरदले जेएन फ्लाइलिंकलाई २२ रन बनाएर खेलिरहँदा विकेटकिपर दिलीप नाथबाट क्याच गराए । बसन्तले जेपी कट्जेलाई ९ रनमा आउट गरे । सोमपालले सुरुवाती ३ विकेट लिए । सोमपालले पहिलो ओभरमा एलपी भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए । यस्तै, उनले पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे । सोमपालले तेस्रो नम्बरमा ब्याटिङ गरेका जान ग्रिनलाई २२ रनमा बनाएर खेलिरहँदा बोल्ड गर्न सफल भए ।
बिहीबार भएका अन्य खेलमा क्यानडाले ओमानलाई तथा युएईले केन्यालाई पराजित गरेका छन् । नेपालले शुक्रबार डब्लुएपी मैदानमै ओमानसँग प्रतिस्पर्धा गर्नेछ । डिभिजन–२ मा नेपाल र नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन् । एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ ।