‘नेपालको घरेलु रक्सी स्तरीय छन्, यसलाई कानुनी मान्यता दिनुपर्छ’

पोखरा, असोज २ ।
गण्डकी प्रदेशका सांसदले घरेलु मदिरलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोख्रेलले घरेलु मदिरालाई बैधानिकता दिएर करको दायराभित्र ल्याउनुपर्ने माग राखे ।

प्रदेशसभामा सम्बोधन गर्दै उनले घरेलु मदिरा आधुनिक रक्सीभन्दा धेरै स्तरीय रहेको अध्ययनले देखाएको उनको भनाई छ । मापदण्ड पूरा गरेर मदिरा उत्पादन गर्न पाउनुपर्ने उनको जोड छ ।

नेपालीको मतब्य जस्ताको तस्तै
हाम्रो प्रदेशमा गाउँहरु धेरै छन् । घरेलु मदिरा उत्पादन गर्ने हाम्रो पूरानो संस्कार हो । उनीहरुलाई बेलाबेलामा प्रहरी प्रशासनबाट कारबाही गरिन्छ र मदिरा पनि नष्ट गरिन्छ । २१ औं शताब्दीमा यो अब्यवहारिक र सामान्ती शैलि फेरिनुपर्छ । लाईसेन्स दिएर कर तिरेर घरेलु मदिरालाई बैधानिकता दिनुपर्छ ।

हामी भन्दैछौं ३ सय होम स्टे चलाउने कुरा । पर्यटनमा हाम्रो जोड छ । तर पर्यटनका आधारहरु घरेलु मदिरा पनि हो भन्ने हेक्का हामीसँग हुनुपर्छ । डिस्टिलरी मालिकहरुले सरकारलाई पैसा दिएर घरेलु मदिरा हटाउन लागेका छन् । यसबाट सरकार जोगियोस् ।

एउटा किसानले १ मुरि कोदो बनाएर १ महिना खान पुग्दैन । राम्रो रक्सी बनाएर मार्केटमा लग्यो भने ६ महिना खान पुग्छ । महंगो रक्सी छोडेर हाम्रो देशको रक्सी आधुनिक डिस्टिलरीको भन्दा राम्रो छ भन्ने अनुसन्धानले देखाईसकेको छ । समयसापेक्ष रुपबाट सरकार अघि बढ्नुपर्छ । ट्याक्सको दायरामा ल्याएर यसलाई लिगलाईज गर्नुपर्छ । बरु आवश्यक मापदण्ड चाहीँ नियन्त्रण गर्नुपर्छ ।