देउवाले बोली नसच्याए काँग्रेस इतिहास बन्छः प्रचण्ड

पोखरा, मंसिर ११ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाका कारण पार्टी इतिहास हुन लागिसकेको टिप्पणी गरेका छन् । पोखरामा नेकपाको चुनावीसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक प्रधानमन्त्रीले सबै राजनीतिक दलका नेताहरुलाई राखेर कालापानीको बारेमा छलफल गर्दा सबैले समर्थन गरेपछि अहिले गलत आरोप लगाउँदै हिड्दा राष्ट्रियता कमजोर हुने बताएका हुन् ।

देउवाले गरेका टिप्पणी र प्रतिक्रियाका कारण काँग्रेस आफै कमजोर हुने उनको भनाई छ । काँग्रेस निरन्तर ओरालो लागेको भन्दै आफुलाई नसच्याए इतिहासको किम्बदन्ती बन्न सक्ने चेतावनी दिएका छन् ।

काँग्रेसको उम्मेदवार बृद्ध भएका भन्दै उनले देवघाटमा गएर धर्मकर्म गर्न सुझाए । ‘हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बूढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ?’ उनले भने ।

प्रचण्डले समावेशी पार्टी नेकपा मात्रै भएकोले भारी मतले विजयी गराउन आग्रह गरे । ‘मन्त्री र राजनीतिक नियुक्ती त सबैलाई गरेका छौं । प्रदेश प्रमुख तोक्दा पनि दलितलाई तोकेका छौं । हेर्नुहोला प्रधानमन्त्री दलित बन्छ । जनजातिको छोरो प्रधानमन्त्री बन्छ भने नेकपाको प्रश्तावमा मात्रै बन्छ । भोट हालेर भारी मतले नेकपालाई जिताउनुहोला,’ उनी भन्छन् । पार्टीभित्र कुनै राजनीतिक अन्यौल नभएको भन्दै समृद्धीको महान यात्रामा अघि बढेको उनको भनाई छ ।