त्रिविका परीक्षाहरु स्थगित, क्याम्पसहरु बन्द

 

काठमाडौं, चैत ६ ।

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु स्थगित गरिएको छ ।

यही चैत ७ गतेदेखि सन्चालन हुने परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो ।

त्रिवि कार्यकारी परीषद्को बिहीबार बसेको बैठकले त्रिविअन्तर्गत्का पठनपाठनसमेत बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले त्रिविअन्तर्गत्का सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठनपाठन चैत ७ देखि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

‘कोभिड–१९’ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले विश्वविद्यालयका पठनपाठन बन्द गर्ने, २५ जनाभन्दा बढी संख्यामा भेला हुन नहुनेलगायतका निर्णय गरेको थियो ।

सोहीअनुसार त्रिविले क्याम्पसका छात्रावासहरुमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित क्याम्पसहरुलाई निर्देशनसमेत दिएको छ ।

विश्वविद्यालयका नियमित प्रशासनिक कामहरु भने यथावत् गर्ने निर्णय गरिएको त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले बिहीबार जारी गरेको सूचनामा जनाइएको छ ।
(ईमेजखबरबाट साभार)