तोकियो निर्वाचनको मिती, नेपालभरी नै मंसिर १४ मा उपनिर्वाचन हुने (कहाँकहाँ)

काठमाण्डौं, साउन १७ ।
निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाको पद विभिन्न कारणले रिक्त छ । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ ।

यस्तै, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली छ ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् । विभिन्न ३७ जिल्लामा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि मसिर १४ गते एकै दिन निर्वाचन गरिने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।