‘जन्मँदा नै अभागी’ मेयरको हर्कत–भाडामा लिएको सरकारी गाडी, बिहेमा सवारी !
काठमाण्डौं, बैशाख १७ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामीको ९८५८७५०४८६ नम्बरको सरकारी मोबाइलमा फोन गर्दा ‘रिङ ब्याक टोन’ सुनिन्छ–‘मै अभागी जन्मँदा नै भाग्य रहेछ खोटो !’ मेयरले नगरपालिकाले भाडामा लिएको गाडी दुरुपयोग गरेको सूचनाबारे बुझ्न फोन गर्दा ‘अभागी मेयर’को ‘रिङ ब्याक टोन’ सुनियो । सरकारी नम्बरमा उनले ‘जन्मँदा नै अभागी’ भन्ने भावको टोन राखेका छन् ।
नगरपालिकाले आवधिक रुपमा भाडामा लिएको निजी गाडी म १ च ७२७ विवाहमा प्रयोग भएको पाइएको छ । भाडामा लिएर सरकारी प्रयोजनमा प्रयोग हुनुपर्ने गाडीमै ‘दिपेन्द्र परिणय मनिषा’ लेखिएको पाना टाँसिएको छ ।
गत शुक्रवार सम्पन्न विवाह समारोहमा मेयर धामीले नै विवाहको प्रयोजनमा सरकारी गाडी प्रयोग गरेको बताएका छन् । ‘एक–डेढ महिना भयो सरकारी गाडी किनिसकेका छौं,’ मेयर धामीले भने, ‘सरकारी गाडी किन्नुअघि कात्तिकमै ६ महिनाका लागि निजी गाडीलाई भाडामा लिने गरी सम्झौता भइसकेकाले मैले भाडामा लिएको गाडी नै प्रयोग गर्छु ।’
नगरपालिकाले किनेको सरकारी गाडी कार्यालयमा ‘हाकिम सा’प र इन्जिनियरले चढ्ने गरेको’ मेयर धामीले बताए । मेयरका लागि नगरपालिकाले भाडामा लिएको गाडीमा विवाहको पाना टाँस्नु ठीक नभएको स्वीकार्दै मेयर धामीले थाहा पाएपछि आफूले नै च्यातेको दाबी गरे । भाडामा लिएको गाडीको सम्झौता असारमा सकिने र मासिक १ लाख ८ हजार रुपैयाँ भाडा रकम दिने गरिएको उनले बताए ।
भाइको बिहेमा आफ्नै नगरपालिकाको ग्वानीबाट मालिकार्जुन गाउँपालिकास्थित बेहुलीको घरसम्म गएको मेयरले बताए । ‘स्थानीय प्रहरी कार्यालय नजिकै गाडी राखेको थिएँ, कसले फोटो खिचिदिएछ,’ उनले भने । नगरपालिकाको कार्यालय दार्चुला र बैतडीको सीमावर्ति क्षेत्र गोकुलेश्वर बजारमा रहेको छ ।
सरकारी गाडी किनेर मेयरले भाडाको सरकारी गाडीलाई भाडामै दिएर पैसा कमाउने गरेको आरोप समेत लगाउने गरेका छन् । स्थानीयले आरोप लगाउने गरेको पुष्टि गर्दै मेयर धामीले भने, ‘गाडी भाडामा दिएर ४–५ हजार रुपैयाँ खाने मान्छे होइन म ।’ Source-Lokaantar.com