छमछमी तीजमा जमुना र लक्ष्मीलाई सम्मान
पोखरा, १८ भदौ
गोल्डेन आइ टेलिभिजन र माछापुच्छ्रे एफएमले संयुक्त रुपमा लोटस १८ औं छमछमी तीज तीजगीत प्रतियोगिता २०७५ गर्ने भएका छन् । भदौ २२ गते हुने कार्यक्रममा तीजगीत प्रतियोगितासँगै पत्रकार जमुना वर्षा शर्मा र लोकगायिका लक्ष्मी सुवेदीलाई सम्मान गरिनेछ ।
पत्रकारिता मार्फत् समाज र नेपाली महिलाको सशक्तीकरणमा उल्लेख्य योगदान गरेकोमा शर्मालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक अनिशा श्रेष्ठले बताइन् । सञ्चारिका समूह गण्डकी अध्यक्ष शर्मा पोखरा एक्सप्रेसकी प्रधानसम्पादक पनि हुन् ।
गायिका सुवेदीलाई भने संगीतमार्फत नेपाली नारीको उत्थान र सचेतनामा सहयोग गरेको भन्दै सम्मान गर्न लागिएको हो । पोखरा २१ कृस्तीकी बासिन्दा उनी २५ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील छिन् ।
पोखराको पहिलो टेलिभिजन गोल्डेन आइ र माछापुच्छ्रे एफएमले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र यसपालिको कार्यक्रम त्यसैको निरन्तरता भएको एफएमका अध्यक्ष देव क्षेत्रीले बताए । नेपाली मौलिक संस्कृतिको जर्गेना गरी त्यसको प्रर्वद्धन गर्न यसले सघाउने उनले अपेक्षा गरे ।
तीजगीत प्रतियोगितामा २० समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । तीजगीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २०, १५, १० र ५ हजार नगदका साथमा उपहारहरु र प्रमाणपत्र प्रदान गरिनेछ ।