घलेल खुला भलिवलको उपाधी धम्पुसलाई

पोखरा, पुस २४ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित घलेल गाउँमा सञ्चालित खुला भलिवल प्रतियोगिताको उपाधी मिलन यूवा क्लव धम्पुसले जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक बौद्ध सिर्जना यूव क्लव घलेललाई पराजीत गरि धम्पुसले उपाधी जितेको हो ।

उपाधीसँगै धम्पुसले ६० हजार नगद, प्रमाणपत्र र मेडल तथा कप प्राप्त गरेको छ । उपविजेता घलेलले ३५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा किप्चेबराह यूवा क्लव लान्द्रुक तेश्रो भयो । लान्द्रुकले निश्चल झरना यूवा क्लव लुम्रेलाई पराजी गरेको हो । तेश्रो भएको लान्द्रुकले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । खुला पुरुष भलिवलमा २४ टीम सहभागी भएका थिए ।

महिलातर्फको खेलमा कास्की जिल्ला भलिवल संघ बिजयी भएको छ । लामा अमृत फाउण्डेसन घान्द्रुकलाई पराजीत गरि उपाधी प्राप्त गरेको हो । उपाधी जितेको कास्की जिल्ला भलिवल संघले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र पाएको छ । दोश्रो भएको घान्द्रुकले पनि १० हजार नगद सहित मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा ४ टीम सहभागी थिए ।

भेट्रान्सतर्फको प्रतियोगितामा न्यू निश्चल झरना यूवा क्लव लुम्रे बिजयी भयो । न्यू जेनेरेसन यूवा क्लव कुईवाङलाई पछि पार्दै लुम्रेले उपाधी जितेको हो । लुम्रेले १५ हजार पुरस्कार पायो भने दोश्रो भएको कुईवाङले ८ हजार प्राप्त गर्यो । प्रतियोगितामा ४ टीम सहभागी थिए ।

प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले ग्रामिण क्षेत्रमा यति ठूलो प्रतियोगिता हुनु प्रशंसनीय कुरा भएको बताईन् । ‘आँगनमा सरकार आएको छ भन्छन् । तर गाउँमा यति ठूलो प्रतियोगिता हुँदा र यति ठूलो मेला लाग्दा सरकारले नदेखे झैं गर्छ, उनले भनिन्–यूवाहरुको जोश र उत्साहले कार्यक्रम सफल भएको छ । यो निकै प्रशंसनीय कार्य हो ।’

तमूहरुको महान पर्व फो ल्होसारको अवसरमा कार्यक्रम गरिएको आयोजक बौद्ध सिर्जना यूवा क्लवका अध्यक्ष तथा समाजसेवी राम गुरुङले बताए । उनका अनुसार देश तथा विदेशमा भएका ब्यक्तिहरुसँग सहयोग जुटाएर कार्यक्रम सञ्चालन गरिएको हो । समापन कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ कास्कीका अध्यक्ष आसबहादुर गुरुङले यूवाको सिर्जनशिलतालाई निरन्तर उपयोग गर्न सके देश र समाज परिवर्तन हुने बताए ।