घलेलमा बहुउद्देश्यीय सामुदायिक भवन बन्दै
पोखरा, जेठ २३ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित घलेलमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । भवनको बुधबार एक कार्यक्रमका बीच काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले शिलान्यास गरे ।
भवन शिलान्यास गर्दै सांसद केसीले समृद्धी गाउँको विकासबाट मात्रै सम्भव हुने बताए । ‘गाउँमा मान्छे छैनन् । बजारमा बस्ने ठाउँ छैन । यूवा पुस्ता विदेशमा छन् । यसरी समृद्धी आउँदैन,’ उनले भने, ‘गाउँमा विकास पु¥याएर यूवालाई आय आर्जनमा लगाउन सके बल्ल देशको मुहार फेरिन्छ । ग्रामिण क्षेत्रमा स्वरोजगारका कार्यक्रम लैजानुपर्छ ।’
उनले विकासका काममा पनि पार्टीगत विभाजन हुनु दुर्भाग्य भएको बताए । ‘कुन कार्यक्रममा कुन पार्टीको नेता आउँछ भनेर कुर्छन् । पार्टी जुनसुकै होस् । त्यसको के मतलव, उनी भन्छन्, विकासका लागि जसले पैसा ल्याएपनि सहयोग गर्नुपर्छ । फलानो र ढिस्कानो पार्टी भनेर पन्छिनु हुँदैन ।’
काँग्रेस नेतृ सरस्वती गुरुङले ग्रामिण क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न सके रोजगारी सिर्जना हुने बताईन् । ‘हरेक डाँडाहरु पर्यटकका लागि आकर्षण हुन् । घलेल झनै उत्कृष्ट छ, उनले भनिन्, अव यसको प्रबद्र्धन गरेर पर्यटक बोलाउनुपर्छ । समृद्धी यहीँबाट हुन्छ । सरकारी नाराले मात्रै समृद्धी आउँदैन ।’
कार्यक्रममा अधिबक्ता बीरेन्द्र केसी, राप्रपाका जिल्ला सदस्य विजुली प्रसाद गुरुङ, काँग्रेस नेता भरत गुरुङ लगायतले बोलेका थिए । घलेल टोल विकास संस्थाका अध्यक्ष गुप्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बौद्ध सिर्जना यूवा क्लवका अध्यक्ष तथा टोल विकास विकास संस्थाका सल्लाहकार राम गुरुङले गरेका थिए भने स्वागत सचिव कृष्णकाजी गुरुङले गरेका थिए ।
घलेल टोल विकास संस्थाले बनाउन लागेको भवन मध्ये बहुउद्देश्यिय भवन सांसद केसीको सहयोगमा बन्नेछ भने अर्को भवन प्रदेश सरकार र वडा कार्यालयको सहयोगमा बन्नेछ । बहुउद्देश्यीय भवन बनाउन करिब २० लाख लाग्ने अनुमान छ । अर्को भवनका लागि चाहीँ प्रदेश सरकारले १० लाख र वडाले १ लाख विनियोजन गरेको छ ।
भवन निर्माणका लागि टेकबहादुर गुरुङ र चिजबहादुर गुरुङले जग्गा दान गरेका थिए । कार्यक्रमको अवसरमा जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।