गण्डकी प्रदेश–योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त (काे हुन् पाैडेल)

पोखरा, साउन १२ ।
गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको चैत २१ गतेको नवौँ बैठकले नै नीति तथा योजना आयोग गठन गर्ने निर्णय गरेतापनि लामो समयपछि सरकारले उपाध्यक्ष नियुक्त गरेको हो ।

यसअघि असार २७ गतेको मन्त्रिपरिषद बैठकले उमेरहद कम हुँदा अनुभवी विज्ञहरुलाई आयोगमा ल्याउन नसकिने भन्दै योजना आयोगका पदाधिकारीको उमेरहद बढाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार पदाधिकारीको न्यूनतम उमेर ३५ वर्ष यथावतै राखी अधिकतम उमेल ५५ लाई बढाएर ६५ वर्ष र्पुयाईएको थियो । उमेरहद बढेको दुई सातामै गण्डकी सरकारले नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।

५८ वर्षीय पौडेल स्याङजा वाङसिङका हुन् । योजना र विकास क्षेत्रका विज्ञ पौडेल हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्। युएनडिपीमा ५ वर्ष काम गरेपछि पौडेल युएनडिपीकै तर्फबाट राष्ट्रिय योजना आयोगमा खटिएका थिए । उनी राष्ट्रिय योजना अनुगमन तथा मूल्यांकन, क्षमता सुदृढिकरण आयोजनाका राष्ट्रिय प्रबन्धक पनि हुन् ।

पौडेलले बैंककबाट एमएस्सी र पिएचडी गरेका छन् । उनले थाईल्याण्डको एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङ अध्ययन गरेका छन् । उनले सम्भवतः अर्को हप्ता पदभार ग्रहण गर्नेछन्। तर, राष्ट्रिय योजना आयोगको राजीनामा भने स्विकृत भई नसकेको उनले बताए ।

चालु आर्थिक वर्षमा सरकारले बजेट ल्याईसकेका कारण त्यसको कार्यान्वयनमा ध्यान दिने उनले जनाए । सरकारले आयोगका बाँकी सदस्य पनि छिटै थप्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । आयोगमा अब २ जना सदस्य आवश्यक रहेका छन् । एक महिला सदस्य पनि अनिवार्य गरिएको छ ।