गण्डकी प्रदेशमा उत्कृष्ट बन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित

 

पोखरा, भदौ २३ ।

सामुदायिक विद्यालयतर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ ।

उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट तेश्रो बन्न सफल भएको हो ।

४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई नगद ४० हजार सहित उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेललाई नगद र प्रमाणपत्र प्रदान गरे ।

सम्मान ग्रहणपछि समितिका अध्यक्ष चन्द्रा थापाले सम्मानले आफुहरुलाई थप हौंशला बढेको बताउँदै, अवको ध्यान देशकै उत्कृष्ट सामुदायिक विद्यालय वनाउँने तर्फ केन्द्रित रहने बताए ।

प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सबैको सहयोग र मेहेनतले विद्यालय आज प्रदेशकै उत्कृष्ट बन्न पुगेकोमा खुशी व्यक्त गर्दै गुणस्तरिय शिक्षाका लागि आफुहरुले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

निजी विद्यालयलाई समेत चुनौती दिँदै विद्यालयले प्राप्त गरेको सफलताले यस क्षेत्रकै गौरव बढाएको वडाध्यक्ष जीवनप्रसाद आचार्यले बताए । उनले यस वडामा रहेका अन्य विद्यालयले पनि आफुलाई अब्बल बनाउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए ।

सबैलाई समेटेर शैक्षिक विकासमा केन्द्रित भए सफलता पाईने उदाहरण विद्यालयले पेश गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुले बताएका छन् ।

प्रविधिमैत्री र शैक्षिक वातावरणमा अध्यापन गराउँदै आएको उक्त विद्यालय कास्की जिल्लामा भने उत्कृष्ट दोश्रो बनेको छ । प्रदेशमा उत्कृष्ट पहिलो शितलादेवी मा.वि, उत्कृष्ट दोश्रो बाग्लुङको गणेश मा.वि बनेका छन् ।

सोही अवसरमा संस्थागत तर्फ पनि उत्कृष्ट बन्न सफल विद्यालयलाई सम्मान गरिएको थियो । करिव १ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले पर्यटकिय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफाको समेत व्यवस्थापन गर्दै आएको छ । विद्यालयले त्यहाँबाट प्राप्त आम्दानी गुफाको व्यवस्थापनसँगसँगै शैक्षिक र भौतिक विकासमा लगाउने गरेको छ ।

यसैबिच दिवसकै अवसरमा पोखरा महानगर शिक्षा महाशाखाले विभिन्न विषयका उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । नेपाली विषयतर्फ विन्ध्यवासिनी मा.विकै शिक्षक भेषराज पौडेल सम्मानित भएका छन् ।