गण्डकीका लोभी सांसद, जसले राजधानीमै घर हुँदा पनि सरकारसँग घरभाडा लिन्छन्

पोखरा, पुस १४ ।
स्याङजाका प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङको पोखरा नागढुंगामा घर छ । गण्डकी प्रदेशको राजधानीमा घर भएर पनि घरभाडा बापत मासिक १५ हजार रुपैयाँ बुझ्ने उनी एक्ला सांसद हुन् ।

प्रदेशसभा नचल्दा प्राय जिल्ला तिरै हुने गुरुङ पोखरा आउँदा आफ्नै घरमा बस्छन् । उनको घरबाट प्रदेशसभा ४ किलोमिटर जतिको दुरीमा प्रदेशसभा छ । प्रदेशसभा चलेपनि नचलेपनि पछिल्लो १० महिनायता घरभाडाको रकम लिँदै आएका छन् ।

राजधानी पोखरामा घर भएतापनि कास्कीका ८ जना सांसदले यो सुविधा लिएका छैनन् । सुविधा नलिनेमा मुस्ताङका सांसद इन्द्रधारा ढाडु विष्ट, कास्कीका विन्दुकुमार थापा, कुमार खड्का, कृष्ण बहादुर थापा, दीपक कोईराला, प्रभा कोईराला, पुष्पा केसी, मित्रकुमारी गुरुङ सुवेदी, मीना गुरुङ, राजीव पहारी, मन बहादुर गुरुङ, रामजी प्रसाद बराल र स्याङजाका भागवत प्रकाश मल्ल रहेका छन् ।

कास्कीबाट घरभाडा सुविधा लिने एकमात्र सांसद भने गायत्री गुरुङ हुन् । उनले संसद सचिवालयलाई घर नभएको बताएकी छन् । गुरुङले नेकपाको तर्फबाट संसदमा प्रतिनिधीत्व गरेतापनि माओवादीको सचेतकको हैसियतमा सवारी साधन सुविधामार्फत मासिक १० हजार रुपैयाँ लिँदै आएकी छन् । उनीसँग सवारी साधन छैन, तर उनको खातामा मासिक १० हजार रुपैयाँ सवारी साधन शिर्षकबाट जम्मा हुँदै आएको छ । यी दुवै सांसद नेकपाका हुन् ।