काहूँ धरहरा महोत्सव सुरु, पोखरा विमानस्थल ६ महिना अघि सकिन्छ–अधिकारी
पोखरा, मंसिर २८ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा ६ महिना अघि नै बनिसक्ने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाडाँमा आयोजना गरिएको तेश्रो काहुँ धरहरा महोत्सवलाई सम्बोधन गर्दै उनले २०२१ को सुरु देखि नै सञ्चालन हुने दावी गरे ।
‘निर्माण कार्य तीब्र छ । अहिले कतै पनि अवरोध छैन, उनले भने–तोकिएको समयभन्दा ६ महिना अगावै काम सकिन्छ । २०२१ को सुरुमै अन्ताराष्ट्रिय उडान हुन्छ ।’
विमानस्थल निर्माण पछि पोखराको पर्यटनमा विविधिकरण गरिनुपर्ने भन्दै उनले भौतिक पूर्वाधार निर्माणको काम थाल्न ब्यवसायीलाई आग्रह गरे । एघार महिनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरि कुल २२ लाख पर्यटक नेपाल आएको तथ्याङ्क उल्लेख गर्दै उनले मुलुकले सन् २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाख भन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताएका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य विन्दुकुमार थापाले होमस्टेको माध्यमबाट शहरकेन्द्रित पर्यटकलाई गाउँ भित्र्याउन सकिने बताए । ग्रामिण क्षेत्रमा पर्यटक जाने माध्यम तयार गरिदिन सरकारसँग उनको आग्रह छ ।
अर्की सांसद मिना गुरुङले पर्यटन प्रवद्र्धन प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै पर्यटनको विकास जनताको समृद्धिसंग जोडिने बताईन् ।
‘काहूँ दृष्यावलोक एक गन्तव्य’ भन्ने मूल नारा सहित आयोजित महोत्सव पुस ८ गतेसम्म चल्ने महोत्सव व्यवस्थापन समितिका संयोजक दिपकप्रसाद आचार्यले जानकारी दिए ।
काहुँ धरहराबाट पोखराको ३३ वटै वडा देख्न सकिन्छ भने माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी लगायत हिमश्रृंखला देखिन्छ । जनकल्याण क्लव आयोजक, फुलवारी क्लव सहआयोजक, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा एनएमवि बैक मुख्य प्रायोजक रहेको महोत्सवमा बिभिन्न प्रकारका ४० भन्दा बढी स्टल रहेका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जनकल्याण क्लवका अध्यक्ष देव गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले काहूँको पर्यकन विकास गर्न महोत्सव आयोजना गरिएको बताए ।