कसले बनाउँछ पोखरा रंगशाला ?, केन्द्र सरकार भारततिर–प्रदेश सरकार चीनतिर

प्रकाश ढकाल
पोखरा, पुस २५ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरि संरचना निर्माणका लागि अघिल्लो बर्ष भत्काईएको पोखरा रंगशाला अहिलेसम्म खण्डहर छ । अघिल्लो बर्ष रंगशालामा हुने मुख्य प्रतियोगिता आहा रारा गोल्डकपलाई नै प्रभावित पार्ने गरि भत्काईएको संरचना कहिलेसम्म बनिसक्छ अझै टुंगिएको छैन ।

खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भारतीय कम्पनी जेभीएमए र नेपाली कम्पनी जिएसआईसँग पुस १३ गते निर्माण सम्झौता गरेको छ । निर्माणको जिम्मा पाएसँगै कम्पनीले सोमबारदेखि सर्भेको काम पनि थालिसकेको छ । रंगशालाको साविकको फुटबल मैदानमा १ अर्ब २८ करोडको लागतमा आधुनिक स्टेडियम बनाउन लागिएको निर्माण कम्पनीले जनाएकोछ ।

सम्झौता अनुसार ६ महिनाभित्र सुविधासम्पन्न फुटवल स्टेडियम बनिसक्छ । तर हाल सम्झौता गरिएको कम्पनीले यसअघि नै राम्रो छाप छोडेको छैन । पोखरा रंगशाला परिसरमै झण्डै ३ हजार क्षमताको कभर्डहल बनाउन १५ महिनाको सम्झौता गरे पनि कम्पनीले पाँच वर्ष बितिसक्दा अझै बनाएको छैन । २०७० चैतमा १५ महिनाभित्र बनाउने सम्झौता गरेको कभर्डहल अहिले निर्माणको अन्तिम चरणमा छ । यता प्रदेश सरकारले चाहीँ पोखरा रंगशाला आँफुले बताउने बताएको छ ।

चीनियाँ कम्पनीसँग प्रारम्भीक छलफल भैसकेकोले माघको ७ गते रंगशाला निर्माणको सम्झौता हुने भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । गएको मंसिर २८ गते बसेको मन्त्रीपरिषद् बैठकले चाईना रेलवे फोर्टिन्थ ब्यूरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गर्दैछ । करिब ७ अर्व हाराहारी लगानी गरेर अन्तराष्ट्रिय स्तरको खेलकुद स्टेडियम बनाउने योजना रहेको बस्नेतले बताए ।

तर प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा रंगशाला निर्माण झनै अन्यौलमा फसेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाहीँ केन्द्र सरकारले असहयोग गरेको आरोप लगाए । ‘खेलकुद मन्त्रीसँग पनि कुरा गरेको छु । १ अर्वले केही पनि हुँदैन, हामी गछौं भनेको हो । चिनियाँ कम्पनीले फिजिविलिटी स्टडी सकेर डिपिआरको लागि आउँदैछ, उनले भने–अहिले हामीलाई नसोधिकन माथी सम्झौता भएछ । पहिले पनि राम्रा कम्पनीलाई डिस क्वालिफाई गरेर कमिसनको चक्करमा ठेक्का दिन लागेको सुनिएको थियो । खेलकुदमन्त्रीले प्रदेश सरकारलाई असहयोग गर्नुभयो ।’ उनका अनुसार पूरा लागतमध्ये ५० प्रतिशत सरकारले ब्यहोर्ने र बाँकी ५० प्रतिशत इपिसी मोडलमा काम गर्ने तयारी थियो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पनि प्रदेशले आफुँलाई जानकारी नगराएको बताए । उनले अहिलेकै रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउन नसकिने बताए । ‘अहिलेको रंगशाला ४ सय रोपनी भित्र छ । शहरीकरण हुँदै गएपछि साँघुरो हुन्छ । अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन १ हजार रोपनी जग्गा चाहिने रहेछ, उनले भने–मुख्यमन्त्रीसँग पनि कुरा गर्छु । अव नयाँ जग्गा खोजेर अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ ।’

पोखरा १५ को द्धारे खरबारीलाई रंगशालाका लागि प्रश्ताव गरेर चालू बर्षमै ५० लाख विनियोजन गरेको उनले जानकारी दिए । तर त्यही जग्गा प्रदेश प्रहरी तालिम केन्द्र निर्माणका लागि हस्तान्तरण गरिसकेको छ । मन्त्री विश्वकर्माले भेडी फाराम नजिकको जग्गालाई अघि सारेका छन् ।

‘१३ औं सागको महिला फुटवल पोखरामै गर्ने निर्णय छ । सेप्टेम्बरमा गेम हुन्छ । असार मसान्तसम्म स्टेडियम बनाईसक्नुपर्छ, उनी भन्छन्–चाइनिजले जेठसम्म काम गर्न सके टेण्डर क्यान्सिलको कुरा पनि सोच्न सकिन्छ । नभए फुटवल स्टेडियम यसैलाई बनाउन दिएर अरु चाईनिज टीमलाई दिन सकिन्छ । तर अन्तिममा दीर्घकालीन ठाउँ चाहीँ खोज्नैपर्छ ।’

चाइनिज कम्पनीले फुटवल सहित क्रिकेट स्टेडियम, स्विमिङ पुल, एथ्लेटिक अपार्टमेण्ट, आर्चरी तालिम केन्द्र, बहुउद्देश्यिय सभाहल निर्माण गर्ने गरि प्रारम्भीक डिजाईन प्रदेश सरकारलाई बुझाईसकेको छ । सोही डिजाईन अनुसार सरकारले काम अघि बढाउन केन्द्र सरकारसँग स्विकृति मागेको थियो । तर स्विकृति दिनुभन्दा पहिलै केन्द्र सरकारले भारतीय कम्पनीलाई रंगशाला निर्माणको ठेक्का सुम्पिएको हो ।