उपसभामुखको चुनाव आज-काँग्रेसबाट मनकुमारी दावेदार, एमालेको टुंगिएन

प्रकाश ढकाल

पोखरा, फागुन ६ ।

प्रदेश नम्बर ४ को उपसभामुखमा चुनाव हुने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उम्मेदवार दिने भएपछि चुनाव निश्चित भएको हो । सत्तारुढ गठबन्धन एमाले र माओवादीको तर्फबाट साझा उम्मेदवार रहनेछन् भने प्रतिपक्षीको तर्फबाट अर्को उम्मेदवार चुनावी मैदानमा छन् । सत्तारुढ दलले अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन । काँग्रेसले भने उम्मेदवार चयन गरिसकेको छ । काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार नै गोरखाकी समानुपातिक सांसद मनकुमारी गुरुङलाई उम्मेदवार बनाएको हो ।
गठबन्धनबाट भने एमालेको भागमा परेको उपसभामुखको उम्मेदवार चयन गर्न निकै जटिल भएको छ । यो बिषयमा हालसम्म संसदीय बैठकमा छलफल नै नभएको एक नेताले बताए । ‘केही नामहरु सामान्य चर्चामा मात्रै सुनिएको छ । निर्णय चाहीँ आईतबार बैठक बसेर गरिन्छ, ति नेताले भने–अहिले आन्तरिक रुपमा लविङ भैरहेको छ । भोलि नै थाहा होला ।’ आईतबार विहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । त्यसपछि साढे ११ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । चुनाव चाहीँ दिउँसो १ बजेको बैठकमा हुने प्रदेश सचिवालयले जनाएको छ । एमालेभित्र सिर्जना शर्मा र मित्रकुमारी गुरुङ सुवेदी मध्ये एकजनालाई उपसभामुखको टिकट दिने बुझिएको छ । श्रोतका अनुसार शर्मा भन्दा गुरुङको दावेदारी बलियो छ । ‘सम्भवतः मित्रकुमारीलाई नै उम्मेदवार बनाउन सक्छ । योगदान र अवसरलाई हेरेर निर्णय भयो भने वहाँ बलियो दावेदार हुनुहुन्छ, श्रोत भन्छ–सिर्जना जी पनि कमजोर हुनुहुन्न तर यसपालि मित्रकुमारी जी को सम्भावना बढी छ ।’ शर्मा र गुरुङ दुवैजना कास्कीका हुन् र दुवै समानुपातिक सांसद ।
संविधानमा सभामुख र उपसभामुख फरक लिङ्गी र फरक राजनीतिक पार्टीको हुनुपर्ने स्पष्ट ब्यवस्था छ । त्यसैले काँग्रेसको जोड उपसभामुखमा बढेको हो । ‘एमाले र माओवादीले पार्टी एकीकरणको शर्तमा जनमत मागेका थिए । भोली दुई पार्टी एकीकरण हुँदा काँग्रेसको उपसभामुखमा दावी रहन्छ, काँग्रेस सांसद विन्दुकुमार थापाले भने–संविधानको बाध्यात्मक ब्यवस्थाले उपसभामुखमा काँग्रेसले दावी गरेको हो । एकीकरण हुने वित्तिकै यो पद हाम्रो स्वतः हुन्छ ।’