इट्टा भट्टाको पोखरीमा डुबेर तनहूँमा एकै परिवारका दुई बालकको मृत्यु
पोखरा, असार १७ ।
तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित इट्टा भट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णबहादुर शाहीका छोराहरू ७ वर्षिय सुन्दर शाही र ४ बर्षिय किस्मत शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
दुबै बालकहरु जामुनेको राधा माविको एसकेजि र नर्स्रिमा अध्ययनरत थिए । जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको हो । डिएसपी लामिछानेका अनुसार विद्यालयबाट घर फर्किदा दिउँसो पौने २ बजेको समयमा पौडी खेल्ने क्रममा बालकहरु डुब्न पुगेका थिए ।
यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको समेत डिएसपी लामिछानेले बताए । इट्टा भट्टा सञ्चालकले खुला रुपमा पोखरी निर्माण गर्ने तर त्यसमा तारबार नगर्दा यस्ता दुर्घटना हुने गरेका छन् । इटाभट्टाहरु बालबालिकाहरुका लागि जोखिमपूर्ण बन्दै गएका छन् ।
हरेक बर्ष ५ देखि ६ जनासम्म बालबालिकाहरुको ज्यान लिदै आएको इटाभट्टामा इटा पार्न बनाइएका कृत्रिम पोखरीहरुमा सुधार नगरिए यस्ता नियति बारम्बार दोहोरिने पछिल्लो घटनाले पनि प्रष्ट पारेको छ । प्रत्येक इट्टा भट्टामा इट्टा बनाउन माटो मुछ्न पानी जम्मा गर्न पोखरी तथा खाल्डो बनाउने गरिन्छ ।