आगामी चुनावलाई कास्कीमा ३१ मतदान केन्द्र थपिए

पोखरा, असोज २४ ।
आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र हेरफेर गरेको छ । आउँदो चुनावलाई कास्कीमा मात्रै ३१ म्तदान केन्द्र थप भएका छन् ।
वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा जिल्लाभर २ सय ८८ मदान केन्द्र रहेकोमा अहिले ३१ वटा थपेर ३ सय १९ पु¥याईएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए ।
स्थानीय चुनावपछि कास्कीमा ३० हजार ७ सय ३६ मतदाता थपिएका थिए । मतदाता थपिएसँगै त्यही अनुसार मतदान केन्द्र थप गरिएको सुवेदीको भनाई छ । सबैभन्दा बढी पोखरा महानगरपालिकामा २१ मतदान केन्द्र थप गरिएको छ । अन्नपूर्ण, माछापुच्छ्रे र रुपा गाउँपालिकामा २–२ तथा मादीमा ४ केन्द्र थपिएका छन् ।
स्थानीय तहको चुनावमा कास्कीमा २ लाख २४ हजार ८ सय १३ मतदाता थिए । अहिले बढेर २ लाख ५५ हजार ४ सय ८१ पुगेको छ । पोखरा महानगरपालिकामा स्थानीय चुनावमा १ लाख ६८ हजार ६८ मतदाता रहेकोमा २३ हजार ६ सय ८२ जना थपिएर अहिले १ लाख ९१ हजार ७ सय ५० पुगेको छ ।
मादी गाउँपालिकाकामा १३ हजार ५ सय ५९ मतदातामा रहेकोमा २ हजार २ सय ८४ थपिएर १५ हजार ८ सय ४३ पुगेको छ । रुपामा ११ हजार ३ सय १३ मतदाता रहेकोमा ८ सय ९५ थपिएर १२ हजार २ सय १० पुगेको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए । माछापुच्छ्रेमा १६ हजार ३ सय २ रहेकोमा अहिले १ हजार ७ सय ९ मतदाता थपिएर १८ हजार ११ पुगेको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकामा २ हजार ८९ मतदाता थपिएका छन् । अन्नपूर्णमा पहिला १५ हजार ५ सय ६९ मतदाता रहेकोमा अहिले १७ हजार ६ सय ६७ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । चुनावको मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले जिल्लामा तयारी थालेको छ । मतदान स्थल र मतदान केन्द्रको टुंगो लागिसकेको छ । पहिलो चरणमा पत्रकार प्रशिक्षक तालिम, मतदाता शिक्षाको लागि प्रशिक्षक तालिम गर्न लागिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए ।