अब सपथ लिने पालो दीपक मनाङेको !, मनाङे भन्छन्–रेशम चौधरीले पाउने, मैले नपाउने ?
पोखरा, पुस २० ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा निर्वाचित रेशम चौधरीले ढिलो गरी सांसद पदको सपथ लिए । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद दीपक मनाङेको सपथबारे अर्को चर्चा सुरु भैरहेको छ ।
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगको मुद्दा पुनरावेदन हुने र हाल थुना बाहिर रहेकाले मनाङेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै निवेदन समेत दिइसकेका छन् । गण्डकी प्रदेशसभामा मनाङेले सपथका लागि निवेदन दिएको एक साता पुगेको छ ।
मनाङे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आइ नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गरेका छन् ।
नियमावलीमा स्पष्ट छैन
गण्डकी प्रदेशको प्रदेशसभा नियमावलीमा फौजदारी कसुरमा दोषी ठहर भएकालाई सपथ रोक्ने वा खुल्ला गर्ने कुनै स्पष्ट व्यवस्था रहेको छैन । नियमावलीमा बिना जानकारी लगातार १० बैठकमा अनुपस्थित हुनेको पद खारेज हुने उल्लेख छ ।
परामर्शमा सभामुख
मनाङेले निवेदन दिएपछि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मनाङेको सपथ के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहको छ,’ उनले भने, ‘कानुन अनुसार नै अघि बढ्ने हो ।’
गत शनिबार सभामुखले बोलाएको बैठकमा संसद तथा समितिमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपालका सांसद अनुपस्थित भएपछि बैठकमा कुनै निर्णय भने भएको छैन ।
स्पष्ट कानुन अभावमा गुरुङलाई सपथ खुवाउने कि नखुवाउने भन्नेमै अन्योल भएपछि सभामुख संविधान र कानुनविद्सँग परामर्शमा छन् । सर्वोच्चको आदेशबाट गुरुङ अघिल्लो साता मात्रै जेलमुक्त भएका थिए
मनाङेको पक्षमा नेकपा, अन्य दल विपक्षमा
मनाङेको सपथ रोक्नुपर्ने पक्षमा नेपाली काँग्रेस लगायतका दलहरू छन् । नयाँ शक्तिले काँग्रेसलाई साथ दिएको छ । सर्वोच्चले सपथ गराउनु भनी आदेश गरेमा आफूहरु तयार हुने नत्र उनको सपथ रोकिनुपर्ने अडानमा आफूहरु रहेको कांग्रेसका प्रदेशसभा सदस्यको मत छ ।
मनामनाङेभन्छन्–मैले किन नपाउने ?
मनाङेले सर्वोच्चबाट तारेखमा रिहा भएपछि आफूले सपथ लिन पाउनु पर्ने माग गरे । ‘मेरो मुद्दामा अदालतबाट अन्तिम फैसला भएको छैन,’ उनले भने, ‘जेलमा हुने रेशम चौधरीले सपथ लिएको सुनें, म त बाहिरै छु । अब मेरो पनि सपथ लिने बाटो खुला भएको छ ।’
सर्वोच्चको अन्तिम फैसला जस्तोसुकै आएपनि आफूले स्वीकार गर्ने उनले बताए । ’जेल जानु पर्ने अवस्था आएपनि म तयार छु,’ उनले भने । गण्डकी प्रदेशको नियमावली अनुसार सपथ रोक्न नहुने उनको दाबी छ ।
आफ्नो निवेदन सचिवालयमा दर्ता भएकाले प्रदेश सभाबाट खबर आउने समय कुरिरहेको उनले बताए । ‘सभामुखले कानुन सम्मत हुन्छ भन्नु भएको छ,’ मनाङेले भने, ‘खबर आउला नि त ।’