स्थानीय तहका कार्यपालिका सदस्यको तलव बढ्ने (यस्तो छ प्रश्ताव)

पोखरा, चैत २२ ।
प्रदेश ४ को बुधबार बसेको प्रदेशसभा बैठकमा जनप्रतिनिधीको सुविधा बारे थप छलफल भयो । चैत १६ गते विधायन समितिमा पठाईएको विधेयकमाथी समितिले दफावार छलफल गरेर केही सुझाव सहितको प्रतिवेदन संसदमा प्रश्तुत गरेको हो । समितिमा संयोजक कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री, मन्त्री र संसदसभाका पदाधिकारी तथा सदस्यहरुको सुविधा प्रश्ताव अनुसार नै ठीक भएपनि स्थानीय तहका प्रतिनिधीको सुविधामा हेरफेर गर्न सुझाव दिएको छ । जिल्ला समन्वय समितिका सभापतिको तलव २ हजार घटाएर ३८ हजार कायम गर्न प्रश्ताव गरिएको छ । उपप्रमुखलाई ३० हजार कायम गरिएको छ भने सदस्यहरुको चाहीँ ११ हजार बनाउन सुझाईएको छ ।
महानगर, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिको पनि केही तलमाथी गरिएको छ । महानगरका मेयरलाई ४५ हजारबाट ४३, उपमेयरलाई ४० बाट ३८, वडाध्यक्षलाई २५, कार्यपालिका सदयलाई ८ हजारबाट बढाएर १२ हजार ५ सय बनाईएको छ भने सभाका सदस्यालाई ५ सय थपिएको छ । गाउँपालिका र नगरपालिकामा चाहीँ कार्यपालिकाका सदस्यहरुको मात्रै सेवा सुविधा हेरफेर गरिएको छ । गाउँपालिका कार्यपालिका सदस्यको ६ हजारबाट बढाएर ९ हजार कायम गरिएको छ भने नगरकार्यपालिका सदस्यलाई ७ हजारबाट बढाएर १० हजार बनाईएको छ । केही दैनिक सुविधामा पनि थोरै तलमाथी गरेर प्रश्ताव पेश गरिएको विधायन समितिका संयोजक कृष्णचन्द्र नेपालीले जानकारी दिए । यसबारे थप छलफल गर्न शुक्रबार अर्को बैठक डाकिएको छ । स्थानीय तहका कार्यपालिका सदस्यहरुले वडाध्यक्ष सरह सुविधा दिनुपर्ने माग सहित सभामुख सहित प्रदेशका संसदीय दलको ध्यानाकर्षण गराएका थिए ।