सहमतिपछि संसद सञ्चालन, सरकारलाई सघाउन मुख्यमन्त्रीको आग्रह

पोखरा, जेठ २९ ।
संसदीय मर्यादा कायम राख्ने सत्तापक्षको प्रतिबद्धतापछि सोमबारदेखि प्रदेश ४ को सदन सहज रुपमा चलेको छ । सोमबारको बैठकमा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले संसदको अवहेलना गरेको गुनासो गरेका छन् । एक सांसदको प्रतिपक्ष भएपनि प्रतिपक्षको विरोधमा सदन चल्न नसक्ने भन्दै उनले दुई तिहाईको रवाफमा सत्तापक्षले जवरजस्ती गरेको आरोप लगाए । ‘सत्तापक्षले संसदीय मर्यादा उल्लघंन गरेको हामीले महशुस गरेका छौं । प्रतिपक्षको संसदलाई बहुमतको अहंकारले जवरजस्ती गरिएको छ, उनले भने–आगामी दिनमा यस्तो घटना नदोहोरिने ज्ञारेण्टी सत्तापक्षले दिनुपर्छ ।’

गुनासो सुनुवाई गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार दुईतिहाई बहुमतको नाममा कुनैपनि प्रकारको निरंकुशता लाद्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘सरकार बहुमतको हुन्छ, अल्पमतको प्रतिपक्ष हुन्छ । प्रतिपक्ष संसदमा सकारात्मक भूमिका निर्वाह गरेन भने अराजकको थलो बन्छ । यसलाई मर्यादित बनाउन सरकारलाई सहयोग गर्नुस्, उनले भने–बहुमतको नाममा कम्युनिष्ट सरकार कुनैपनि प्रकारको निरंकुशता लाद्ने पक्षमा छैन । तपाईंहरुको माग पूरा गर्न हामी तयार छौं ।’ उनले हालसम्म सबैको साथ र सहयोगले अरु प्रदेशभन्दा उत्कृष्ट काम गर्न सफल भएको भन्दै आगामी दिनमा पनि सघाउन आग्रह गरे ।

‘७ सरकारमध्ये सबैभन्दा राम्रो नीति तथा कार्यक्रम प्रदेश ४ ले ल्याएको छ । प्रदेशको समृद्धीका लागि प्रतिपक्षको पनि उत्तिकै साथ र सहयोग छ, उनले थपे–सरकारको अस्थित्वमाथी प्रश्न उठ्ने गरी ब्यवहार भए हामी चुप लाग्दैनौं । बजेट ल्याउने समयमा अरु कुरा उठाएर अवरोध गर्न खोजियो भने सरकार चुप लागेर बस्दैन ।’ उनले जुनसुकै हालतमा असार १ गते बजेट ल्याईछाड्ने बताएका छन् । संविधानमा असार १ गतेभित्रै प्रदेश सरकारले बजेट सार्वजनिक गरिसक्नुपर्ने ब्यवस्था छ । मुख्यमन्त्री गुरुङले सभामुखले तोकेको मिति असार १० गतेदेखि प्रदेशको नामका बिषयमा निरन्तर छलफल चल्ने बताए ।

‘पहिले नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउनुपर्छ । त्यसपछि नामका बिषयमा साझा धारणा बनाऔंला, उनी भन्छन्–असार १० गतेदेखि नाममा छलफल हुन्छ । म प्रतिपक्षी साथीहरुलाई यो विश्वस्त पार्न चाहान्छु ।’ पार्टी एकीकरणपछि नामका बिषयमा छलफल नै हुन नपाएको भन्दै सुझाव संकलन समितिले पेश गरेको नामलाई आधार मानेर छलफल चलाउने उनको प्रतिबद्धता छ । समितिले पहिलो नम्बरमा गण्डकी, दोश्रोमा तमुवान–मगरात, तेश्रोमा गोरखा र चौंथोमा धवलागिरी नामलाई सिफारिस गरेको छ ।

बजेटअघि प्रदेशको नाम टुंग्याउन माग गर्दै आईतबार प्रतिपक्षी दलले सदन अवरुद्ध गरेको थियो । तर सत्तापक्षले चाहीँ पहिले बजेट पास गरेर मात्रै नामका बारेमा छलफल गर्ने भन्दै जवरजस्ती सदन चलाएको थियो । आईतबार विपक्षीको विरोध र नाराबाजीले ३ पटकसम्म संसद अवरुद्ध भएको थियो । अन्तिममा मार्सल लगाएर अर्थमन्त्री किरण गुरुङ दुई वटा विधेयकमाथीको प्रश्ताव प्रश्तुत गरेका थिए । सभामुखले फाष्ट ट्रयाकबाट प्रश्ताव पास भएको घोषणा गरेकी थिईन् । सोमबार पनि विपक्षी र मुख्यमन्त्री बीच बैठक भएपछि मात्रै सदन चलाउन सहमति जुटेको थियो । सोमबार १ बजे डाकिएको बैठक ४ बजेपछि मात्रै सुरु भएको थियो ।