सरकारकै कार्यक्रममा यति ठूलो विभेद–चालक र हाकिमलाई छुट्टाछुट्टै खाना, चालकहरु आक्रोसित

पोखरा, मंसिर ११ ।
‘के हाम्रो शरिर चाहीँ शरिर होइन ? भिआइपी मान्छेले खाएको खाना हामीले खान हुँदैन ?’ मंगलबार, होटल ग्राण्डको अगाडि एक हुल मान्छे खैला बैला मच्चाउँदै थिए । उनीहरुको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोश भन्दा पनि ठुलो विद्रोह थियो ।

‘दुई सय तिरेर हामी भात खान सक्दैनौ ?’ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो परिषद् बैठकमा गाडी चालक, प्रहरी र प्रदेश प्रतिनीधिहरुलाई छुट्टाछुट्टै खाना खुवाएको भन्दै उनीहरु विरोधमा उत्रिएका थिए । ‘खाना छैन भन्नुस् । हामी बाहिर गएर खान्छौ,’ ड्राइभर शिवराज बरालले भने, ‘यस्तो खाना खुवाउने ?’

ड्राइभर हुन् जस्तो दिए पनि हुन्छ भन्ने सोच रहेको उनीहरुको आरोप थियो । ‘जानुस् तपाईहरु आँफै गएर हेर्नुुस्,’ अर्का ड्राइभर युवराज पुनले भने, ‘खानै नसकिने छ ।’ ‘हामीले जिताएर सरकारमा पुग्ने हामीलाई बेवास्ता गर्ने ?’ सुरक्षाकर्मीको समेत बेवास्ता गर्दै उनीहरु चिच्याउँदै थिए, ‘खाना छैन भन्नस, हामी आफ्नै घरमा गएर खान्छौं । खुवाउनकै लागि यस्तो खाना नखुवाउनुस् ।’ अन्य ठाउँमा पनि यस्तै दुब्र्यबहार गरिँदै आएको उनीहरुले गुनासो गरे ।

होटल व्यवस्थापनले भने जे अर्डर आयो त्यहीं बनाएको बताएको छ । गण्डकी प्रदेशका प्रवक्ता मन्त्री रामशरण बस्नेतले भुलबस दुई थरी खाना भएको बताए । उनले मंगलबार साझँबाट नै एउटै थरी खाना हुने प्रतिबद्धता जनाएपछि आक्रोश केही साम्य भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान दिवसको दिन आयोजना गरेको रात्रीभोजमा पनि यस्तै समस्या थियो । त्यतिबेला केही चालकहरु आक्रोशित भएपनि जमात सानो भएकोले आवाज बाहिर आएको थिएन । तर मंगलबार प्रदेशभरिका स्थानीय तह र सांसद तथा मन्त्रीका गाडी चलाउने चालकहरुले विभेद गरेको भन्दै आयोजकसँग चर्काचर्की समेत गरेका थिए ।