विवाह मण्डपमै बेहुली छाडेर भागे बेहुला, ४ दिनपछि पक्राउ
मोरङ, जेठ ९ ।
विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै आएका मोरङ जहदा गाउँपालिका–४ का वर्ष २४ को लक्ष्मण राजवंशी प्रहरी फन्दामा परेका हुन् ।
परम्परागत रुपमा यही जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशीले माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह मण्डपबाटै उठेर हिँडेका थिए । दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुसीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो ।
राजवंशीले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल दिनुपर्ने भन्दै बेहुली पक्ष दबाब दिएका थिए । यता बेहुली पक्षले दिन नसक्ने भनेपछि राजवंशी विवाहको मण्डप नै छाडेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसुर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ,’ उनले भने । राजवंशीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको हो । राजवंशीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउन आदलतबाट म्याद थप गरी अुसन्धान भइरहेको जनाएको छ ।