विद्यार्थी रिहाई नगरे काँग्रेस टुलुटुलु हेरेर बस्दैन–थापा

पोखरा, माघ २३ ।
नेपाली काँग्रेसका सांसद विन्दुकुमार थापाले केही विद्यार्थीलाई झुटा मुद्धामा पक्राउ गरि हिरासतमा राखेको आरोप लगाउँदै उनीहरुलाई रिहाई नगरे काँग्रेस चुपचाप नबस्ने चेतावनी दिएका छन् । बुधबार संसद बैठकमा बिशेष समय लिएर बोलेका थापाले तत्काल विद्यार्थीहरुको रिहाई गर्न माग गरे । राजनीतिक बिषय भएकोले राजनीतिक पंक्तिबाट नै समस्या समाधान गर्नुपर्ने भन्दै उनले विद्यार्थीको रिहाई हुनुपर्ने माग राखे ।

‘यो घटनामा अनुसन्धान जारी छ । दोषी को हो पत्ता लागेको छैन । तर आशंकाकै भरमा नेविसंघका नेताहरुलाई पक्राउ गरि अमानवीय ब्यवहार गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यति मात्रै होईन पक्राउ परेका विद्यार्थीहरुमाथी अदालतबाट म्याद थप गरि मुद्धा समेत अघि बढाईसकेको हामीले बुझेका छौं । यो घटनामा नेविसंघलाई फसाउन घुसपेठ भएको छ, उनले भने–यो बिषय नितान्त राजनीति मुद्धा हो । संघर्षका कार्यक्रम गर्न बाध्य नपारियोस् । समयमा नै सरकारको विवेक पुगोस् ।’

उनले सरकारी सम्पत्तिको दोहन बढ्दै गएको भन्दै त्यसको नियन्त्रण हुनुपर्ने बताए । ‘सरकारी सम्पत्तिको दोहन बढ्दै गैरहेको परिप्रेक्षमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देशभरी नै सार्वजनिक विदाका दिन सरकारी गाडी चल्न नदिने र सरकारी सम्पत्ति दुरुपयोग हुन नदिने हेतुले निगरानी गर्दै आईरहेको छ । गएको शनिबार पोखरा मासबारमा पोखरा महानगरपालिकाको शिक्षा शाखाको गाडी चलाईएपछनि नेविसंघले गाडीको चावी मात्रै लिएको छ, उनी भन्छन्–सोही समयमा सरकारी गाडीमा आगजनि समेत भएको छ । यो दुखद घटना हो । यो नभएको भए राम्रो हुन्थ्यो । नेपाली काँग्रेस यसमा दुख ब्यक्त गर्दछ । घटनामा संलग्नलाई पक्राउ गरि कडा कारबाही गर्न पनि हामी जोडदार माग गर्दछौं ।’