वडा कार्यालयमा बम विस्फोट, विप्लव समूहमाथी आशंका

भरतपुर, फागुन २९ ।
जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति साढे बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरे । घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिएको राठौरले जानकारी दिए ।

प्रहरीले सतर्कता अपनाएको बताइरहेका बेला विस्फोटको घटना भएको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने अनुमान गरेको छ ।

विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामाथि अनुसन्धान थालिएको राठौरले बताए ।