वडाध्यक्षले कुटेपछि प्रशासकीय अधिकृतले गाउँ छोडे

रुकुम, पुस ५ ।
रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ । कुटपिटमा संलग्न भएकोको आरोपमा प्रहरीले आठबीसकोट ३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा बुधबार साँझ ६ बजेतिर आठबीसकोट–९, राडीज्युलामा आफूहरुमाथि कुटपिट भएको उनीहरुले बताएका छन् । चेनले आक्रमण गर्दा केसीको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा पाँच टाका लगाइएको छ । चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका छन् । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको केसीले बताए ।

अब पुनः आठबीसकोटमा गएर काम गर्ने वातावरण नभएको भन्दै उनले अन्यत्र सरुवा गरिदिनसमेत माग गरेका छन् । ‘अब त्यहाँ गएर काम गर्ने वातावरण छैन’, केसीले भने, ‘असुरक्षित भएपछि सरुवा मागेको छु ।’ केसीले केशरमानकै योजनामा आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् ।

रूकुम पश्चिमका डीएसपी सुमित खड्काले वडाध्यक्षविरुद्ध किटानी जाहेरी परेको भन्दै वडाध्यक्षलाई पक्राउ गरिएको बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ,’ खड्काले भने । थप उपचार गर्नुपर्ने भएपछि केसी काठमाडौं जाने तयारीमा छन् । नेपालखवर