लोकतन्त्र, मानव अधिकारका लागि काँग्रेसको जित आवश्यक छ : युनियन अध्यक्ष सिग्देल

 

पोखरा, कार्तिक २५ ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले लोकतन्त्र, मानव अधिकार र विधिको शासनका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष सिग्देलले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउनु भनेको लोकतन्त्र र विधिको शासनको जित हुने बताएका हुन् ।

सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई धम्क्याउने लगायत क्रियाकलाप प्रेस स्वतन्त्र विरुद्ध हुने भएकोले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरे । युनियनको केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुने समेत उनले बताए ।

काँग्रेसका नेता शुक्रराज शर्माले सरकारले गरेका ज्यादतिविरुद्ध जनताले मूल्यांकन गर्नुपर्ने महत्वपूर्ण बेला भएको बताए । उनले कास्की क्षेत्र २ मा काँग्रेसका उम्मेदवारले जितेमा सरकार सच्चिन बाध्य हुने बताए ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसका उम्मेदवार खेमराज पौडेल लोकतन्त्र र प्रजातन्त्रका लागि लडेका स्वच्छ छविका व्यक्तित्व भएकोले जिताउनु सबैको कत्र्तव्य भएको बताए । केसीले भने उम्मेदवार पौडेलको त्याग पार्टीमा मात्र नभै देशमा आमूल परिवर्तनका निम्ति खेलेको भूमिकालाई मूल्यांकन गरी पार्टीले टिकट दिएको स्पष्ट पारे । सभापति केसीले काँग्रेसका उम्मेदवारलाई जिताउन प्रेस जगतबाट सक्दो सहयोेग गरिदिन आग्रह गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले लोकतन्त्रमा प्रेसको सम्मान हुनुपर्ने बताए । उनले भने, जहाँ प्रेसको सम्मान हुँदैन, त्यहाँ लोकतन्त्रले पूर्णता पाउँदैन ।’

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका सल्लाहकार शिरोमणि बराल, तारा पाखे, प्रेस युनियनका केन्द्रीय सदस्यद्वय टंक अधिकारी, सरिता पंगेनी, पत्रकार महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारी, पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल अथक, रेम बिक, पत्रकार भरत कोइराला, कमल पराजुली, युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल, माधव रेग्मी, बासुदेव पौडेल, हरि पन्त, विजय लम्साल, ज्योति हमाललगायतले प्रेस स्वतन्त्रताको पक्षमा बोलेका थिए ।