राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
काठमाडौं, कार्तिक २७ ।
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शिष्टाचार भेट गरेका छन् ।
भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमासमेत छलफल भएको भेटवार्तामा सहभागी कांग्रेस नेता डा. नारायण खड्काले जानकारी दिए ।
भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरिद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए ।
प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरिद गर्न पनि बंगलादेश तयार रहेको बताएको डा. खड्काले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसंग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका थिए ।
बंगलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुसी व्यक्त गर्दै योगदान पुर्याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराएका थिए ।
राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणकाक्रममा नेपालमा छन् ।
यसअघि, मंगलबार उनीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गरेका थिए भने बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् ।
बुधबारै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राष्ट्रपति हमिदको भेटवार्ता हुँदैछ ।
भक्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन भ्रमण गरेका उनले बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौंको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ ।
मंगलबार आएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्कनेछन् । (रासस)