राष्ट्रपतिको चुनाव २१ गते, उपराष्ट्रपतिको चैत ३ गते

काठमाण्डौं, फागुन ३ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए । संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो । चैत्र भित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन । बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वा्चित हुने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाइ नगर्न पनि सचेत गराउँदै आएको छ ।