महाधिवेशनको मिति फेरबदल गर्न देउवाद्वारा अस्वीकार, पोखे असन्तुष्टि

 

काठमाडौं, पुस २४ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका छन् ।

बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै निवास बूढानीलकन्ठमा भएको भेटमा उनले महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गरेका हुन् ।

सभापति देउवाले बहुमतबाट निर्णय लिएका भ्रातृसंगठन, विभाग र विधानका धारा निलम्बनका विषयमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग छलफल गर्ने बताए ।

असन्तुष्ट

असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाप्रति उनले असन्तुष्टि जनाए ।

देउवासँगको भेटमा सहभागी जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले देउवाले आफू ‘निर्वा्चित सभापति भएको र आफूले गरेका निर्णय नै मान्न छाड्ने हो भने पार्टी कसरी चल्छ ?’ भनेको बताए ।

‘जिल्लाका निर्वा्चित सभापतिका निर्णयविरुद्ध पराजित उम्मेदवारहरुले भेला गरे भने के गर्नुहुन्छ ?’ देउवाको प्रश्न थियो ।

प्रतिबद्धता

सभापति देउवाले सहमतिको विकल्प नभएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले छलफल सकारात्मक रहेको बताए ।

गुट–उपगुट अन्त्य गर्न आग्रह

भेलामा सहभागी जिल्ला सभापतिहरुले गुट–उपगुटको भेला नभइ सबै पक्षको भेला भएको जिकिर गर्दै गुट–उपगुट अन्त्य गर्न सभापति देउवासँग आग्रह गरेका थिए ।

आपत्ति

भ्रातृसंस्थाहरुलेसमेत पार्टी सदस्यता वितरण गर्नसक्ने व्यवस्था गरिएकोप्रति भने उनीहरुले गम्भीर आपत्ति जनाएका थिए ।

विवाद अन्त्यको माग

उनीहरुले पार्टी्भित्रको विवाद अन्त्य गरी जिल्ला फर्कने भन्दै चाँडै विवाद अन्त्यको माग गरेका छन् ।

किचलो

यही पुस ११ गते पौडेल पक्षको बहिस्कारबीच सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट केही महत्वपूर्ण निर्णय गराएका थिए ।

देउवाले १४औं महाधिवेशनको मिति घोषणा, विभागको संख्या २८ बाट ४७ र्पुयाउने र महाधिवेशनलाई लक्षित गरी विधानका केही दफा निलम्बन गराएपछि पौडेल समूह चिढिएको हो ।

पौडेल पक्षले तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको भेलामा ७७ मध्ये ४६ जिल्लाका सभापतिहरु सहभागी भएको दाबी गरिएको छ ।
(ईमेजखबरबाट साभार)