मन्त्रिमण्डल पुनर्गठनप्रति निर्वाचन आयोगको ध्यानाकर्षण, आचारसंहिताको पालन गर्न सबैसँग आग्रह

 

काठमाडौं, मंसिर ६ ।

निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोग निरीह भएको आरोप लगाउदै गर्दा आयोगले आचारसंहिताको पूर्ण पालन गर्न सबैसंग आग्रह गरेको छ ।

त्यसैगरी आयोगले शान्ति सुरक्षाको स्थिति सुदृढ भएकाले ढुक्क भएर मतदान गर्न भनेको छ । उपनिर्वाचन आउन एकसाता बाँकी रहँदा सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेको छ ।

निर्वाचनको मुखमा गरिएको मन्त्रिमण्डल फेरबदलप्रति नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै असन्तुष्टि जनाएको छ ।

यता निर्वाचन आयोगले पनि निर्वाचनको मुखमा सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन नगरेको भए राम्रो हुने भन्दै आफ्नो ध्यान गएको जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले काँग्रेसले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको भन्देै आयोग निरीह नभएको बताए ।

उनले आचारसंहिता उल्लंघन गर्ने दल वा व्यक्तिलाई आयोगले स्पष्टीकरण सोध्न सक्ने र कारवाही गर्न सक्ने व्यवस्था भएको बताए ।

यसै गरी निर्वाचन सुरक्षा समितिको आज आयोगको कार्यालयमा बसेको बैठकले शान्ति सुरक्षाको स्थिति सुदृढ भएको निष्कर्ष पनि निकालेको छ ।

उनले ३७ जिल्लाको ५२ पदमा निर्वाचन हुने, त्यसकालागि मतपत्र छापेर पठाई सकिएको, थप मतदाताको परिचयपत्र बनाएर पठाई सकिएको भन्दै डर, त्रास नमानी ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

नेपाली काँग्रेसले सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन प्रचारप्रसारमा लागेको, नयाँ योजना बाँडेर मतदाता प्रभावित बनाएको, बजेट बितरण गरेर आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित बनाउन उपनिर्वाचन हुने ३७ वटै जिल्लामा जिल्लास्तरीय समिति समेत गठन गरिएको छ ।

उप निर्वाचनको लागि आयोगले कात्तिक ८ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लागु गरेको थियो ।

तर, मतदानको समय आउन एकसाता बाँकी रहँदा निर्वाचन आयोगले आचारसहिताको अनुगन गर्ला या नगर्ला हेर्न भने बाँकी नै छ ।
(ईमेजखबरबाट साभार)