फेवा किनार सरे मुख्यमन्त्री

प्रकाश ढकाल
पोखरा, फागुन १४ ।
पूरानो ढुंगाको छानो । भित्तामा सफाचट सेतो रंग । आउटडोरमा ढुंगै टाँसिएको छ । भुईँमा टायल बिछ्याईएको र सुत्ने कोठा भित्रै आधुनिक बाथरुम । बाहिर सामान्य जस्तो लाग्ने यो घरको भित्री सजावट भिआईपी छ । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भएपछि महानगरले बनाएको फेवा किनारको अतिथी गृहमा यतिबेला मुख्यमन्त्री बस्न थालेका छन् । २०३५ सालमा बनेको ड्यामसाईडको यो घरमा महानगरले पाहुना राख्दै आएको थियो । तर मर्मत अभावले चुहिने भएपछि यहाँ लामो समयदेखि पाहुना पनि राख्न छोडिएको थियो । महानगरको चुनावपछि मर्मत गरेर मेयरको आवास बनाउने तयारी पनि थियो । तर मर्मतमा अल्छि गरेर महानगरको कार्यपालिका बैठकले नै भाडाको घर खोजेर मेयरलाई आवास सुविधा दियो । हिमागृहमा पर्यटन ब्यवसायीको विरोधपछि धेरै ठाउँ डुलाउँदै प्रदेश संरचना ब्यवस्थापन समितिले महानगरको थोत्रो अतिथीगृहलाई मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गर्ने सिफारिस ग¥यो र त्यसैलाई मर्मत गरेपछि अहिले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बसाई थालेका हुन् । पूराना सबैजसो भित्री संरचना हटाएर नयाँ सजावट टाँसिएको यो घरमा डेकोरेसनका लागि मात्रै झण्डै ४० लाख खर्च भएको छ । ‘अहिलेसम्म ४० लाख हाराहारीमा खर्च भैसक्यो । अझै केही काम बाँकी नै छ, निर्माणमा खटिएका महानगरका सव ईञ्जिनियर नेत्र तिमिल्सीनाले भने–आवश्यक परेको सामान ल्याएर काम गरिरहेका छौं । अन्तिममा खर्च विवरण एकमुष्ट निकाल्छौं ।’ यसका लागि नेपाल सरकारले २५ लाख रुपैयाँ निकासा दिएको छ भने बाँकी रकम महानगरपालिकाले नै लगानी गर्नुपर्छ ।
मुख्यमन्त्रीको निवासको गेटैमा सचीवालय र मिटिङ हल पनि निर्माण हुँदैछ । यसको काम अझै बाँकी छ । यसबाहेक किचन पनि नयाँ बनाईएको छ । करिब ३० लाख नयाँ संरचनामा मात्रै खर्च भएको तिमिल्सीनाले जानकारी दिए । नयाँ आवासमा मुख्यमन्त्री गुरुङ पुजाआजा गरी शुक्रबार देखि बसाई सरेका छन् । तर यो आवास पनि अस्थायी हो । मुख्यमन्त्रीको कार्यालय नजिकै नयाँ भवन बन्दै छ । जसलाई मुख्यमन्त्रीको आवासको रुपमा सिफारिस गरिएको छ । बैशाखसम्ममा भवन तयार भैसक्ने बताईएको छ । यो तयार भएपछि फेवा किनारको भवनमा मेयर मानबहादुर जिसी सर्नेछन् । प्रदेशसभाका सभामुख र उपसभामुखका लागि एयरपोर्ट अगाडीको पर्यटन कार्यालयमा निवास तयार गरिएको छ । सभामुख नेत्रनाथ अधिकारी निवासमा सरिसकेका छन् भने उपसभामुख सिर्जना शर्माको पोखरामै घर भएकाले केही पछि सर्ने बुझिएको छ ।
यसैबीच, मन्त्रीहरुका लागि पनि क्वाटरको ब्यवस्था लगभग भैसकेको छ । नियुक्त भएका ३ मन्त्री अहिले सरकारी निवासमै बस्छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रानीपौवाको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा बस्न थालेका छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहारदुर थापा विरौटा स्थित जिल्ला कृषि विकास कार्यालयको आवास र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीको गेष्ट हाउस बसिरहेका छन् । मन्त्रीका आवासका लागि ड्यामसाईड स्थित मुख्यमन्त्रीको निवास आडैमा रहेको पश्चिमाञ्चल क्षेत्रीय सिँचाई निर्देशनालयको आवसलाई मर्मत गर्ने काम भैरहेको छ । यहाँ ४ मन्त्रीको आवास बनाईनेछ । आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजनामन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीलाई सिँचाईको आवासमा बस्ने ब्यवस्था मिलाउन लागिएको प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण प्रसाद अर्यालले जानकारी दिए । सामाजिक विकास मन्त्री चाहीँ हाल उद्योग मन्त्री बस्नेत बस्दै आएका क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमै बस्नेछन् ।
सरकारले प्रदेश संरचना मर्मतका लागि शहरी डिभिजन कार्यालय पोखरा मार्फत तत्काल साढे ७ करोड विनियोजन गरेको थियो । सोही बजेटबाट काम भैरहेको कार्यालय प्रमुख किशोरलाल महाजुले जानकारी दिए । प्रदेशमा काम गर्न खटिएका कर्मचारी र मन्त्रीहरुको पनि दीर्घकालीन निवास र अन्य सुविधाको टुंगो लगाउन प्रदेशको मन्त्रीपरिषद् बैठकबाट एक समिति गठन गरिएको छ । समितिको सिफारिसका आधारमा संरचना निर्माणको काम थालिने प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।