प्रदेश ४ संसदमा सत्तापक्ष र विपक्षीको घच्चाघच्ची (भिडियो हेर्नुस्)

पोखरा, जेठ २७ ।
प्रदेश नं. ४ मा सत्तापक्षीय दल र प्रतिपक्षी दलको आ–आफ्नै अडानका कारण आईतबारको प्रदेशसभा बैठक दुईपटकसम्म स्थगित भएको छ । यस्तै, सदनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम अगाडि नाराबाजी समेत गरेको छ । कांग्रेसले प्रदेश नामांकनको विषयलाई छलफलमा ल्याउनुपर्ने मागसहित सदन अवरुद्ध गरेको हो ।

आईतबार दिउँसो १ बजे बैठक राखिएपनि कार्यव्यवस्था परामर्श समितिमा नै सदस्यहरुबिच विवाद भएका कारण बैठक ४ बजेमात्र बसेको थियो । तर, प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नामांकनलाई पनि छलफलको लागि संसदमा ल्याउनुपर्ने अडानसहित संसद अवरुद्ध ग¥यो ।

सभामुख सिर्जना शर्माले तत्कालका लागि आधा घण्टा बैठक स्थगित गरेपनि अर्को बैठक भने साँझ साढे सात बजेमात्र सुरु भएको थियो । तर, सो बैठकमा पनि नेपाली कांग्रेसले रोष्टमअगाडि गएर नाराबाजी नै गरेपछि पुनः बैठक अवरुद्ध भएको हो । सभामुख शर्माले आधा घण्टाका लागि सदन स्थगित भएको घोषणा गरेकी हुन् ।

दोश्रो बैठकमा सभामुख शर्माले प्रदेश नामांकनको विषय संवेदनशील र महत्वपूर्ण रहेको बताउँदै असार १० गते छलफल गर्ने बताएतापनि कांग्रेसले भने नामांकन टुंग्याएर मात्रै बजेट ल्याउनुपर्ने अडान लिएको छ । आफुहरुले संसदीय परम्परा र मर्यादा कायम राख्नको लागि नामांकनलाई छिटो टुंग्याउनुपर्ने कांग्रेस प्रमुख सचेतक मणिभद्र शर्माले बताए ।

सभामुख शर्माले अर्थमन्त्रीलाई कर तथा गैर कर लगाउन पाउने विधेयकबारे जवाफ दिन रोष्टममा बोलाएपछि गुरुङ रोष्टमतर्फ जाँदैगर्दा काँग्रेसका सांसदहरुले उनलाई रोके । त्यसपछि सभामुखले सदन आधा घण्टाका लागि स्थगन गरेकी हुन् ।