प्रदेशसभाको प्रारम्भिक अनुभव
नगेन्द्रराज पौडेल
वि.सं.२०७४ को माघ २२ गते प्रदेश नं. ४ को प्रदेशसभाको पहिलो बैठकको आह्वान भैससकेको थियो । यता भौतिक संरचना निर्माण धमाधम जारी थियो । यसैबीच कर्मचारी अपुग भयो । सामान्य प्रशासनले पठाएका कर्मचारी आएनन् ,काम चलाउन पर्ने भो भनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव लक्ष्मण अर्याल कर्मचारीको जोहो गर्न लाग्दा माघ १९ गते कास्कीका प्रमुख जिल्ला अधिकारीको समेतको सिफारिसमा क्षेत्रीय प्रशासन कार्यालयको लोगोमा अर्को व्यवस्था नभएसम्म प्रदेश सभामा खटाइएको पत्र प्राप्त भयो ।“ बाटो म्याद पाइदैन । १०–५ भन्न पनि पाइदैन अहिल्यै गएर जीवराज सरलाई भेटेर काम समाल्नुस” क्षेत्रीय प्रशासकको हैसियतमा लक्ष्मण सरले भन्नुभो । जागिरे जीवनमा नाइ भन्ने शब्द मसँग थिएन ।
हुन्छ सर भन्दै नगर विकास प्रशिक्षण केन्द्रमा हुइँकिएँ,४ नं. प्रदेश सभा खोज्दै ।“ जीवराज सर को हुनुहुन्छ ?” मैले एकजना कर्मचारीसँग सोधें । कोट पाइण्ट लगाएको, टाइ पनि भिरेको चौरमा ठडिएर कामदारलाई ‘त्यो खापा यता, त्यो कार्पेट त्यता’ भन्दै सिकाइरहेको व्यक्ति प्रदेश सभाको सचिव होला भन्ने मैले अनुमान नै गरेको थिइन । साथीले ‘ऊ उहाँ ’भनेपछि नमस्कारसहीत मेरो पत्र र प्रमुख सचिवले अह-याएको कामको फेहरिस्त सुनाएँ । उहाँले हात मिलाउनु भो, स्वागत छ भन्नु भो । परिचय लिनु भो ।‘ अहिले बसाइ व्यवस्थापन दुखै छ गाहारो नमान्नुहोला, पहिला हाम्रो काम पर्सी (२२ गते ) को हाउस कसरी चलाएर सफल पार्ने भन्नेतिर छ ।’
सासै नफेरी उहाँले भननुभो । दुइ दसकभन्दा बढी संंघीय संसदको अनुभव गरेका, प्रदेश सभा सञ्चालनका लागि संघीय संसदको टिमसहित पोखरा आई खटेको एउटा उच्चपदस्थ पदाधिकारी आफै खुल्ला चौरमा ठडिएर काम गर्दैछ ,उसले सहायक कर्मचारीका बारेमा राखेको सद्भाव र व्यक्त विचारबाट उहाँको शालीनता,भद्रता र सहयोगीपन देख्दा म शुरुमा नै द्रवित हुन पुगें । फलेको वृक्ष समीपमा पाउँदा हर्षले फुलेल पनि भएँ ।
गरे हुन्छ भन्ने उदाहरण दिन प्रदेश सभाको तयारी पर्याप्त थियो ।क्षेत्रीय प्रशासक र प्रमुख सचिवको दोहोरो भूमिका निर्वाह गरेका लक्ष्मण सर बिहान, दिउँसो बेलुकी र राति पनि आएर प्रत्येक कामको सूक्ष्म तरीकाले निरीक्षण गर्दै ‘ यो थप्नु,यो हटाउनु ’भन्दै जानुहुन्थ्यो । उहाँ अर्कोपटक आउँदा यस अघि भनिएका कुराहरु कति गरेछन् भनेर हेर्नुहुन्थ्यो । काम भएकोमा ए ठीक छ यो गर्नुभएछ भन्नुहुन्थ्यो नभएकोमा सातो लिनुहुन्थ्यो । यो किन भएन ?? मलाइ जवाफ दिनुस भन्ने उहाँको आदत कायम नै थियो । कामको सम्पन्नता र गुणस्तरीयतामा प्रजिअ तारानाथ अधिकारी पनि कम हुनुहुन्थेन ।
२२ गतेको हाउसका लागि, डेडिकेट फिडर के भो ?स्वास्थ्य टीम आउँछन हैन ? सदस्यहरुले प्रयोग गर्ने शौचालय ठीक छ कि नाइ ? आदि प्रत्येक आइटममा उहाँले सम्झाइरहनुहुन्थ्यो । २१ गते रिहर्सल थियो । जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सभामुखको भूमिका निर्वाह गर्न लगाइयो । अरु सभाषदहरु पनि सबै दुरुस्त । रिहर्सल हुँदा भित्ते घडी प्रष्ट देखिएनछ । लाइट मधुरो भएर । रिहर्सल सकिएपछि अरु सबै हिंडे तर प्रजिअ भने तत्काल लाइट बनाउन लगाएर आफू पनि प्रकाश उज्यालो हुने गरी लाइट फिट नगरेसम्म घर नजाने भनी बस्नु भो । भवन आवासलाई भ्याइ नभ्याइ भो । तुरुन्त लाइट चेन्ज भयो । निकै ढीलो गरी प्रजिअ बल्ल जानुभो ।
मलाई लाग्थ्यो सिडीओहरु आदेश दिन माहिर हुन्छन्, । उनीहरु आफै बसेर काम फत्ते पनि गर्दा रहेछन् मैले आँखाले देंखें । मेरो भ्रम हट्यो । हामी बिहानैबाट काममा खट्थ्यौँ । दिउँसो आएको बेला प्रमुख सचिव र प्रजिअ सरहरुले जाउँ खाजा जान भन्दै क्यान्टिनमा लानुहुन्थ्यो । प्रायः हाकीमहरु अरुको खान्छन, आँफू तिर्दैनन् । म एउटा मन्दिरमा मन्त्रालयका ठूलै मान्छेसँग पसेको छु । उनले दर्शन गरिसकेपछि मेरो कमेजबाट पर्स झिक्न लगाए । पर्समा भएका सबै पैसा हेरेपछि एउटा ठूलै नोट झिकेर ल हामी सबैका तर्फबाट यही भयो दक्षिणा भन्दै चढाएको सम्झेको छु । यद्यपि यो उनको मप्रतिको आत्मीयभाव पनि होला ।
तर आम हाकिमको यो बानी हुन्छ भन्नु भ्रम रहेछ । लगभग १०, १५ जनाभन्दा बढीले खाजा खाँदा पैसा तिर्नेमा मुख्य सचिव र प्रजिअबीच हानाथाप नै चल्यो । दुबैले आआफनो पर्स निकाल्ने ,तिर्न खोज्ने । अन्तमा प्रमुख सचिवले“ म हुँदा हुँदै तपाइले तिर्न सुहाउँदैन म तिर्छु , म नभएको बेला बल्ल सिडिओसापको पालो आउँछ” भन्ने निष्कर्षसहित सबैको खाजाको मोटै रकम तिर्नुहुन्थ्यो । यसअघि मैले यसरी एकमुष्ठ रकम आफनै पर्सबाट तिर्ने अर्का व्यक्ति लमजुङमा प्रजिअ हरिकृष्ण उपाध्यायलाई देखेको थिएँ ।
सभा भवन हेर्न को आयो को आएन कुनै लेखाजोखा थिएन । आउनेहरु यो भएन, ऊ भएन बढी भन्थे । रामचन्द्र पौडेलदेखि देव गुरुंङसम्म, दिनानाथ शर्मादेखि रवीन्द्र अधिकारीसम्म सबका सब आएर निरीक्षण गर्दै, सुझाव दिने काम पनि भयो । हरेकलाई देखाउनु र सुझाव माग्नु जीवराज सर र उहाँको टिमको काम थियो । शुरुदेखि नै खटेको उपसचिव म नै भएकोले होला, साथमा मलाइ सँगै लानुहुन्थ्यो । ‘भोलि म त संघीय संसदमा जाने हो, तपाई हो यहाँ बस्ने सिक्नुस’ उहाँ भन्नुहुन्थ्यो ।
२२ गते हाउस छ । २१ गते राति १२ बजेसम्म बसेर सभाका सचिव जीवराज सर र उहाँको टिमले ६० ओटा माइ क्लियर ब्यागमा अन्तरिम नियमावली, प्रदेश सभा आर्टिकल लगायतका सामान प्याक गर्नुभयो । केन्द्रका मानिसहरु आदेश मात्र दिन्छन भनेको होइन रहेछ ,आफै उदाहरण बनेर खटदा रहेछन् भन्ने दृष्टान्त देखियो । आफ्नो एकमहिनेभन्दा बढी बसाइमा कहिल्यै कुर्चीमा नबसी र थकान नभनी थारैमा धेरै सिकाउने काम संघीय संसदको टीमबाट भयो ।
यूएनडिपीको सहकार्यमा सदस्यहरुका लागि एक दिने र अर्को एक दिने कर्मचारीका लागि तालिम सम्पन्न भयो । साँच्चिकै तालिममा संघीय टीमको प्रस्तुति कामयावी देखियो । कतिपय सदस्यहरुबाट त आफूलाई यो तालिमले दीक्षित नै बनाएको अनुभव पनि ब्यक्त भयो । पत्रकारहरुको शालीनता,सूचना माग्ने पद्धति र सकरात्मक प्रस्तुति यस बीचमा निकै स्मरणीय देखियो । हाम्रो चौथो जगत कति पाको रहेछ भन्ने चिनारी प्रत्येक दिनका समाचारहरुले दिन्थे ।
तीतोपना पनि देखियो
कोरा अवस्थाबाट उठान गरी प्रदेश सभाको बाह्य संरचना र आन्तरिक व्यवस्थापनमा निकै गहिरोसँग जुटेको संघीय टिमलाई सचिवालयले जसरी मान ,मर्यादा राख्नुपर्ने थियो त्यसको अभाव र जुँगाको लडाइँ पनि पछिल्ला दिनहरुमा देखियो । भाग्य नै भनौ,. लगभग भौतिक संरचनाले गति लिएपछि सचिवालय नेतृत्व कुर्चीमा माला लगाएर बसेको देखियो । उता अहोरात्र खटेको प्रदेश सभा सचिवले आफनो कुर्ची समेत नदेखी जानुपर्यो ।
सचिवालय नेतृत्वले यसअघिका कर्मचारी खटन पटनदेखि आर्थिक अधिकारसमेतका कामहरुमा पुनर्विचार गर्यो । कसैका जिम्मेवारीहरु हटे, कसैका थपिए । यद्यपि ६ महिनाका लागि शुरुमै १० करोडको बजेट प्राप्त भएकोले पूर्ववर्तीले विश्वास गरेका पात्रलाई नयाँ नेतृत्वले नपत्याउनु अस्वाभाविक पनि थिएन । परन्तु सिनियरप्रति जुनियरको व्यवहार त्यो बेला असहज नै देखिन्थ्यो ।
यसैकारण आरम्भदेखि ठाडै उभिएर खटेको एउटा टिमलाइ फर्कने बेलामा एक कप चिया समेत सँगै खाऊँ भनिएन , हिँडने बेला कम्तीमा पनि एउटा फूलका गुच्छाले शुभयात्रा भन्न सकिएन । सहिष्णुतामा खडेरी परेपछि जे हुन्छ ,त्यो देखाइयो, देखियो । तैपनि संघीय संसदबाट आएको टिम नम्बरी सुन थियो, जति खारिन परेपनि आँगोदेखि विचलित भएन ।
संघीयता हाम्रो रहर थियो पूरा भयो । संघीय अभ्यासअन्तर्गत प्रदेश सभा पनि एक हो । यो सफल भयो भने अरु सफल हुन्छन् । यो नै असफल हुँदा अरु सफल हुने कुरा आउँदैन । तर प्रदेश सभा सञ्चालनका लागि केही प्राविधिक,केही प्राज्ञिक र केही व्यावसायिक सीपयुक्त जनशक्तिको जरुरत पर्दछ । कम्तीमा पनि संघीय संसदमा अनुभव भएका १, २ जना कर्मचारीहरु पठाएर प्रदेश सभा सञ्चालनमा सरकारले सघाउनुपर्ने थियो । यसको अभाव देखियो ।
हुनत प्रदेश सभा संघीय संसदको क्षेत्रीय कार्यालय होइन तर पनि यसको सफलताको जस संघीय संसदले पनि लिन पाउनुपर्ने हो र यसका लागि शुरुमा जसरी विज्ञहरु पठाएर काम कार्वाही चुस्त ,दुरुस्त गर्न सघायो त्यसैगरी कम्तीमा १, २ जना पुराना कर्मचारी पठाएर सभा सञ्चालनमा प्राविधिक पक्षमा सघाउनै पर्ने थियो । यस मामलामा संघीय संसद चुकेकै हो ।
अनुभव शून्यताकै कारण आज प्रदेश सभामा सभामुखको दाहिनेतर्फ बस्ने पदाधिकारीको भूमिका के हो ? अन्यौल भएको छ । सभामुखलाई वाचन पत्र पाठन देखि बत्ती बाल्ने, निभाउने काममा सघाउने हो भने त्यो गरेकै देखिदैन । सभामुखले बक्ताको समय सकेको जनाउ एक्कासी रातो बत्तीले मात्र दिंदा आडैमा बस्ने ती पदाधिकारीले पहिला हरियो , १ मिनेट बाँकी छँदा पहेंलो र समय सकिएपछि रातो बत्ती बाल्नलाई सहजीकरण गर्नुपर्ने हो कि होइन ? सभामुखको सहयोगी हो वा मञ्चमा बस्न पाएँ भनेर गम्कने हो यकीन हुन नसक्दा प्रदेश सभाका कतिपय बैठकहरुमा खोजेजति सफलता प्राप्त भएको छैन । संभवतः सभा सञ्चालन गर्ने तरिकाको ज्ञान नहुँदा यसो भएको हो । यसको क्षतिपूर्ति संघीय संसदका अनुभवसिद्ध कर्मचारीलाई प्रदेश सभामा पठाएर मात्र गर्न सकिन्छ । शुरुवाती चरणमा नै भिन्न सेवा र समूहको प्रतिनिधित्व प्रदेश सभाका लागि उपयुक्त नहुन सक्छ भन्ने कुरा वि.सं. २०७४ माघ १९ देखि चैत ४ गतेसम्मको अनुभवमा आधारित क्रियाकलापबाट देखियो ।