पोखरामा १० करोड ठगी प्रकरणकी आराेपी जसुदा भन्छिन्–‘म फरार छैन, ज्यान जोगाउन भागेकी हुँ’
पोखरा, चैत १७ ।
१० करोड ठगीको आरोप लागेकी पोखरा गणेशटोलकी जसुदा पौडेलले आँफु बेपत्ता नभएको बताएकी छिन् । पारिवारिक कारणले ब्यवहार बाट केही पर रहेपनि आँफु फरार नभएको दावी गरेकी हुन् । उनले गण्डकी टेलिभिजनसँगको कुराकानीमा पूर्वपतिले कुटपिट गरेपछि ज्यान बचाउन भागेको बताएकी छिन् ।
‘आफ्नै कारणले ३ दिनदेखि म बाहिर छु । त्यो त मेरो अधिकारको कुरा हो । मलाई तनाव भएर मर्छु भनेर हिडेकी थिएँ, उनले भनिन्–दिमागले काम नगरेर हिडेको हो । डिभोर्सको केसले गर्दा यातना भोग्नुपर्यो । ज्यान बचाउनका लागि भागेको थिएँ । पूर्वपतिले कुटपिट गर्नुभयो । त्यसपछि मैले ब्यवहार भन्दा बढी आफ्नै बारेमा सोच्नुपरेको हो ।’
उनले समाचार चाहीँ पूरै फेक भएको प्रतिक्रिया दिएकी छिन् । ‘मैले कसलाई ठगेँ ? नाम आएका ब्यक्तिहरु फेक हुनुहुन्छ, उनी भन्छिन्–मलाई चरित्र हत्या गरियो । पागल बनाईयो । तिर्नुपर्ने भन्दा धेरै सम्पत्ति भएको मान्छे भाग्नुपर्ने आवश्यक्ता छैन । म तिर्न सक्छु ।’
तर उनैले फेक भनेका मान्छेहरुसँग कारोबार रहेको केहीबेरमै खुलाएकी छिन् । पूर्वपतिले नियोजित रुपमा समाचार निकाल्न लगाएको उनको आरोप छ । पूर्वपतिले आँफुलाई झुक्याएर डिभोर्स गराएको आरोप लगाउँदै उनले भएको सम्पत्ति बेचेर ऋण तिर्ने र बाँकी रहेको भाग लगाउनुपर्ने बताएकी छिन् । सहमतिमै डिभोर्स गरेर भोलिपल्टैदेखि श्रीमानले फरक ब्यवहार गरेको उनको आरोप छ ।
सहकारी र ब्यक्तिसँग पनि रकम लिएर ठगी गरेको समाचार शनिबार डिएनए नेपाल डट कम सहित पोखराका विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएको थियो । यसबारे थप बुझ्न खोज्दा जसुदाको मोवाईल आइतबार पनि स्विच अफ गरिएको थियो ।
यो पनि पढ्नुस् ।