पाेखराका घाट टेण्डर–स्थानीयको विरोध, सरकारको केटौलिपन
प्रकाश ढकाल
पोखरा, भदौ २१ ।
पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीमा रहेको दुवार कस्यार घाटबाट २०४८ देखि निरन्तर गिटी बालुवा निकालिएको छ । साविक जिल्ला विकास समितिले टेण्डर निकालेर बर्षेनी ठेक्का दिँदै आएको घाट २०७१ मा स्थानीयको विरोधपछि रोकियो । कर्मचारी र स्थानीय बीच झडप भएपछि ४ बर्ष बन्द कस्यार घाटलाई यसबर्ष पोखरा महानगरपालिकाले टेण्डर निकालेर ठेक्का दिने तयारी गरेको छ । न्यूनतम ६४ लाख ८२ हजार रुपैयाँमा बोलपत्र आह्वान गरिएको घाटलाई सिम्रन क्रसरले २ करोड ६८ लाख तिर्न राजी भएको छ ।
घाट खुलाउने खवर सुनेपछि स्थानीयहरु पुनः आन्दोलित बनेका छन् । गाउँ जोखिममा रहेको भन्दै उनीहरुले खोला उत्खनन् गर्ने अवस्था नरहेको बताए । ‘घर गण्डकीमा खसेर अर्काको धन्सारमा बस्नुपरेको छ । जग्गा जमिन खोलाले लगिसक्यो, स्थानीय रमादेवी आचार्यले भनिन्–कस्यार घाटको माल लगेर जिल्लैभरी ग्राभेल र पीच भयो तर हाम्रो बस्तीको संरक्षण भएन । अव बालुवा झिक्न पाईंदैन ।’ नदीले किनारा चेप्न थालेपछि स्थानीय सावित्री गिरीको परिवार २०७२ सालमै घर छोडेर हिडेको थियो ।
जवरजस्ती गर्न खोजे बाटैमा धर्ना बस्ने स्थानीयले बताएका छन् । वडाध्यक्ष खगराज आचार्यले घाट टेण्डर दिने बिषयमा आफुँहरुसँग महानगरले समन्वय नै नगरेको बताए । खोलामा चेक ड्याम निर्माण नगरी उत्खनन् गर्न नदिने उनको भनाई छ । ‘खोलाहरु सुनको फुल पार्ने कुखुरा हो । कुखुरा जोगाए पो सुनको अण्डा पाईन्छ, उनले भने–सँधै पैसाको खेलोमेलो गरेर मनपरी टेण्डर भैरहेको छ । कोत्रेदेखि रामघाटसम्म चेक ड्याम बनाउनुस् अनि गिटी बालुवा निकाल्नुस् । वडा सरकारलाई दादागिरी मन पर्दैन । दवाव, रवाफ मन पर्दैन ।’ बस्ती संरक्षणका लागि आफुँ जनताको पक्षमा रहेको उनले सुनाए ।
यसअघि जिल्ला विकास समितिले उपयोग गर्दै आएको घाटहरु नयाँ संरचना पछि स्थानीय तहमा सरेको छ । पोखरा महानगरपालिकाले कस्यार घाट सहित पोखराका १० वटा घाटलाई प्याकेजमा ठेक्का दिन टेण्डर निकालेर बोलपत्र सार्वजनिक पनि गरिसकेको छ । रामघाट, भेडीफाराम, गढीघाट, तल्लोखेत र पशुपति घाटको ठेक्का लगभग टुंगिएको छ । ३ करोड ८३ लाख रुपैयाँमा बोलपत्र आह्वान गरिएको रामघाटमा ७ करोड ७ लाख रुपैयाँको प्रश्ताव परेको छ । पि एण्ड पि कन्स्ट्रक्सनले दोब्बर बढी मुल्य तिरेर रामघाट उत्खनन् गर्न राजी भएको हो । रामघाट कास्कीकै सबैभन्दा ठूलो घाट पनि हो । २ करोड ४४ लाख ४३ हजार रुपैयाँमा बोलपत्र मागिएको गढीघाटमा न्यूनतम भन्दा २ लाख बढी २ करोड ४४ लाख ४५ हजार रुपैयाँमा टेण्डर किनेको देवचुली कन्स्ट्रक्सनले उत्खनन्को जिम्मा पाउने लगभग पक्का भएको छ ।
पशुपति, मुसेटुँडो र चमेरे घाटालई एकमुष्ट ३ करोड ४५ लाख रुपैयाँको न्यूनतम टेण्डर निकालिएकोमा ४ करोड ४४ लाख रुपैयाँ प्रश्ताव परेको छ । देवचुली कन्स्ट्रक्सनले नै यो घाट लिने तयारी गरेको छ । २४ लाख १६ हजार रुपैयाँको तल्लोखेत घाटलाई वि एण्ड वि विल्डर्सले ३३ लाख रुपैयाँको टेण्डर हालेको छ । १९ लाख ७७ हजार रुपैयाँ न्यूनतम मुल्यमा टेण्डर निकालिएको भेडीफाराम घाटलाई सिरुवा कन्स्ट्रक्सनले ५२ लाख रुपैयाँ तिर्ने भएको छ । ढाव, दशखेत, तुलसीतरा, पुरुञ्चौर नयाँ र ढोडेनी घाटलाई मिड नेपाल कन्स्ट्रक्सनले सबैभन्दा बढी १ करोड ७५ लाख रुपैयाँ टेण्डर हालेको छ । महानगरले यसका लागि १ करोड ४२ लाख ५९ हजार रुपैयाँमा टेण्डर आह्वान गरेको थियो । टेण्डरको मुल्यांकन भैरहेको छ ।
महानगरपालिकाले टेण्डर निकालेको ८ लाख ३३ हजारको काहुँखोला र २२ लाख ४२ हजारको नारायणस्थान घाटमा चाहीँ टेण्डर परेको छैन । घाट टेण्डर अघि प्रारम्भीक वातावरणीय परीक्षण (आईई) समेत गरिएको छ । ५ वटा प्याकेज बनाएर विभिन्न कम्पनीलाई परीक्षण गर्ने जिम्मेवारी दिईएको थियो । प्राकृतिक श्रोत उपयोग गर्दा वातावरणीय प्रभाव मुल्यांकनलाई महत्वपूर्ण मानिन्छ । तर जटिल प्रक्रिया भएका कारण प्रारम्भीक वातावरणीय परीक्षण मात्रै गरिएको महानगरले जनाएको छ । तर स्थानीयले भने आईई पनि जनतासँग छलफल नै नगरी तयार गरेको आरोप लगाएका छन् । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले राष्ट्रिय पत्रिकामा सूचना निकालेर परीक्षणको प्रतिवेदन तयार गरेको बताएका छन् ।
‘पत्रिकाहरुमा सूचना निकालेर जनताका गुनासो मागेका थियौं । कसैको पनि गुनासो आएन अनि प्रतिवेदन पारित गरिएको हो, उनले भने–स्थानीयलाई आवश्यक्ता भएका आयोजना महानगरले सम्बोधन गर्छ । अहिले आत्तिनुपर्दैन ।’ विवादित बनेको कस्यारघाट सबैभन्दा सुरक्षित रहेको भन्दै उनले समन्वय गरेरै अघि बढ्नुपर्ने बताए । ‘कस्यार घाट रोक्ने हो भने कास्कीका कुनैपनि घाट चलाउन मिल्दैन । सबैभन्दा सुरक्षित घाट यही हो, उनले भने–संरक्षणका कार्यक्रम माग्नु स्वभाविक हो तर घाट बन्द गर्ने कुरा चाहीँ जायज छैन ।’ महानगरका प्रबक्ता धनबहादुर नेपालीले स्थानीयको समस्या सम्बोधन गरेरै अघि बढ्ने बताए । ‘स्थानीयको कुरा सुन्छौं । वडाध्यक्ष ज्यूले पनि तत्काल चलाउन नसक्ने बताउनुभएको छ, उनले भने–क्षतिको पहिचान गर्ने र संरक्षणको काम तत्काल थाल्ने हो । घाट सञ्चालन गर्न चाहीँ रोक्नु हुँदैन ।’