पाहा टिप्न खोलामा गएका दाजुभाइको डुबेर मृत्यु

सोलुखुम्बु, बैशाख १६ ।
सोलुखुम्बुको सोताङ गाउँपालिका(४, रोक बस्ने २ दाजुभाइको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ज्ञानबहादुर राईका छोरा वर्ष २१ का बालकुमार राई र निजकै भाइ वर्ष १७ का मानवीर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शनिबार साँझ सोही ठाउँमा रहेको रोक खोलामा पाहा (एक प्रकारको भ्यागुतो) टिप्न गएका दाजु(भाइ रातिसम्म घर नआएपश्चात् स्थानीयहरुले खोजी गर्ने क्रममा आइतबार बिहान साढे १० बजे भाइ मानवीरको शव खोलाको दहमा डुबिरहेको अवस्थामा फेला पारेका थिए ।

भाइको शव दहबाट निकालेर दाइको खोजी गर्ने क्रममा फेला नपरेपश्चात् स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारीपश्चात् खोजतलासमा खटिएको प्रहरी टोलीले बालकुमार राईको शव आइतबार दिउँसो सवा २ बजे सोही खोलाको १५ मिटर तल छाँगो मुनि दहमा फेला पारेको थियो ।

घटनास्थलमा सम्पूर्ण कानुनी प्रकृयापछि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।