पारसलाई कसैले मान्दैनन्, ज्ञानेन्द्र वा हृदयेन्द्रलाई राजा बनाउने हो–कमल थापा

पोखरा, पुस १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्र वा हृदयन्द्रलाई राजा बनाउने घोषणा गरेका छन् । नेपालखवरसँगको अन्तरबार्तामा उनले नेपालमा राजसंस्था स्थापना भईछाड्ने दावी गरेका छन् ।

‘केही महिनाभित्रै भारतमा आमचुनाव हुँदैछ, त्यहाँको चुनावी परिणामले यहाँ (नेपाल) को राजनीतिमा प्रभाव पार्न सक्छ’, भारतीय चुनावी परिणामको आँकलन गर्दै अध्यक्ष थापाले भने, ‘त्यसपछि नेपालको राजनीतिलाई अराजक र अस्थिर बनाउने खेलपनि हुनसक्छन् ।’

थापाले यसै साता पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरे । र, त्यो भेटपछि उनले ज्ञानेन्द्रलाई राजाकै रुपमा सम्बोधन गर्दै ट्वीट गरे, जबकी गणतन्त्र स्थापनापछि उनले कहिल्यै ‘राजा’ भनेर सम्बोधन गरेका थिएनन् । उनले ज्ञानेन्द्रलाई पूर्वराजा नभई राजा नै भनेर सम्बोधन गर्नुपर्ने बताए ।

‘लोकतन्त्रमा हाम्रो पनि त्यत्तिकै प्रतिवद्दता छ, जति अरु दलहरुको छ । हामीबीच असहमति ‘राजासहितको लोकतन्त्र’ कि ‘राजाविहीन लोकतन्त्र’ भन्नेमा मात्र हो । उहाँहरुले भनेबमोजिम अहिले ‘राजाविहीन लोकतन्त्र’ को अभ्यास भइरहेको छ, हामी ‘राजासहितको लोकतन्त्र चाहिन्छ’ भनिरहेका छौँ, पोखरामा ज्ञानेन्द्रसँगको भेटपछिको प्रशंगलाई समेट्दै उनले भने–राजा ज्ञानेन्द्र हटेपछि देशमा अर्को कोही राजा बनेको छैन । उहाँपछि नयाँ राजा आएको छैन । अहिले राष्ट्रप्रमुख नभएपनि अन्तिम राजा त उहाँ (ज्ञानेन्द्र शाह) नै हो नि । त्यसैले, मलाई लाग्यो, उहाँलाई पूर्वराजा भनेर सम्बोधन गरिरहनु पर्दैन, राजा नै भन्दा हुन्छ ।’

थापाले पुर्व राजा भ्रमणमा निस्केकै बेला सोही ठाउँमा पुगेर भेट्दै आईरहेका छन् । तर उनले यसलाई चाहीँ संयोग मात्रै बताउँछन् । पोखरा भेटपछि पूर्वराजा शाह देशको परिस्थितिबारे चिन्तित रहेको उनले बताए । ‘देशको समसामयिक अवस्थाको बारेमा विचार आदान–प्रदान भयो । पार्टीको गतिविधिका बारेमा पनि मैले जानकारी गराएँ । समग्रमा मुलुकको अवस्थाप्रति उहाँमा चिन्ता रहेको पाएँ, उनी भन्छन्–आफूले गद्दी छोडेर गएपछि परिस्थितिमा धेरै सुधार भएको भए, जनता धेरै खुसी भएको भए मैले चिन्ता गर्नुपर्दैनथ्यो । तर, देशको अवस्था झन् झन् जटिल देख्छु, यसले मलाई चिन्ता हुन्छ’ भन्नुभयो ।’

राजसंस्था स्थापना भएपछि राजा छनौटको जिम्मा चाहीँ दलहरुले नै लिनुपर्ने थापाले बताए । ‘राजतन्त्र पुनस्थापनापछि को राजा हुने भन्ने निर्णय राजनीतिक शक्तिहरु बसेर गर्ने हो, थापाले अघि भने–पृथ्वीनारायण शाहको बंशज हुनुपर्याे, त्यसैले ज्ञानेन्द्र वा नाति हृदयेन्द्र शाहलाई सबै राजनीतिक दलको समझदारीमा राजा बनाउने हो ।’