पत्रकार महासंघ प्रदेश ४ ले घोषणा ग¥यो ५५ हजार राशीको पत्रकारिता पुरस्कार

पोखरा, जेठ २६ ।
प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले कानून निर्माणमा सञ्चार क्षेत्रसंग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताएका छन् । पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आयोजना गरेका मातहतका जिल्ला सभापति र सचिवहरुको भेलालाई सम्बोधन गर्दै उनले अहिले कानून निर्माणकै चरणमा रहेकाले सञ्चार क्षेत्र सहित सबैपक्षसंग आबश्यक सहकार्य गरेरै अगाडि बढ्ने प्रष्टाए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद राजिव पहारीले प्राकृतिक सम्पदाको संरक्षणका लागि कलम चलाउन आग्रह गरे । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समेत तोकिएकै समयमा बन्ने उनको भनाई छ । विमानस्थल निर्माणको काम प्रधामन्त्री र मन्त्रीको दयामयाले सुरु नभई पोखरेलीको संघर्ष र त्यागको परिणाम भएको उनको भनाई थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले स्थानीय स्रोत साधनको उपयोग गर्न दिए आफूले ५ वर्षमा सबै स्थानीय तह मध्ये अन्नपूर्ण गाउँपालिकालाई उत्कृष्ट बनाउने दाबी गरे ।

कास्कीको लुम्लेमा आयोजित नेपाल पत्रकार महानसंघ प्रदेश नम्बर ४को अध्यक्ष एवं सचिवस्तरीय भेलाले ७ बुदें घोषणापत्र जारी गर्दै सकिएको हो । भेलाले आगामी भदौ पहिलो साता साधारण सभा गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर ४ अन्तर्गतका जिल्ला शाखाका अध्यक्ष र सचिवको भेलाले शनिबार पहिलो साधारण भेला गर्ने निर्णय गरेको हो । भेलाले साधारण सभा सम्पन्न गर्न प्रदेश नम्बर ४का अध्यक्ष त्रिभूवन पौडेलको नेतृत्वमा प्रदेश समिति सहित प्रदेश ४का सबै जिल्लाका सभापति सदस्य रहनेगरी मुल अयोजक समिति गठन गरेको छ ।

घोषणा पत्रमा श्रमजिवि पत्रकारिता ऐनको पूर्णरुपले पालना गर्न सम्पूर्ण सञ्चार संस्थालाई आग्रह गरिएको छ । प्रदेश सरकारले आफ्नो बजेटमा सरकारले नै सञ्चार संस्था सञ्चालन गर्ने भनि उल्लेख गरिएकामा ध्यानाकर्षण भएको घोषणा पत्रमा उल्लेख छ । प्रदेश सरकारलाई आफै सञ्चार सस्था सञ्चालन गर्न भन्दापनि भएका निजी सञ्चार सस्थालाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन र समानुपातिकढंगले विज्ञापन प्रदान गर्र्दै नियमन गर्न आग्रह गरिएको छ ।

प्रदेश भेलाले समग्र प्रदेश नम्बर ४मा रहेका प्राकृतिक, सास्कृतिक र सबै प्रकारका सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्न र विकासका लागि बृहत गुरुयोजना बनाउन समेत आग्रह गरेको छ । यसैगरी पत्रकार सदस्य सुद्धिकरणका लागि महासंघ केन्द्रीय समितिलाई अनुकुल हुनेगरी विधान संसोधन गर्नसमेत आग्रह गरिएको छ ।

भेलामा पत्रकार महासंघ प्रदेश ४ अन्तर्गत ११ वटै जिल्लाका सभापतिले जिल्लाको बस्तुगत अवस्थाका बारेमा जानकारी थिए । महासंघ प्रदेश ४का महासचिव दीलिप पौडेलले सञ्चालन गरेको उद्घाटन सत्रको कार्यक्रममा स्वागत उपाध्यक्ष नारायण शर्माले गरेका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ले हरेक वर्ष १ जना पत्रकारलाई ५५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । भेलामा अध्यक्ष त्रिभूवन पौडेलले यस्तो घोषणा गरेका हुन् । पोखरा लेखनाथ ६ निवासी भरतबहादुर भट्टराई, चित्रबहादुर भट्टराई, चीनबहादुर भट्टराई, गोपी बहादुर भट्टराई र विमला भट्टराई अधिकारी परिवारको तर्फबाट स्वर्गिय माता र पिता रुद्धबहादुर÷पूर्णकुमारी भट्टराई स्मृति पत्रकारीता पुरस्कारका लागि प्राप्त हुने अक्षय कोषबाट प्रदान गर्नेगरी उक्त पुस्कारप्रदान गर्ने घोषणा गरिएको हो ।

पिता रुद्धबहादुर भट्टराईको यही जेठ१३ गते र माता पूर्णकुमारी भट्टराईको बैशाख १४ गते निधन भएको हो । समाजलाई रुपान्तरण गर्ने र राज्यको चौथो अंगको रुपमा लिइने पत्रकारलाई पुरस्कारका लागि मातापिताको स्मृतिमाअक्षयकोष खडा गर्ने निर्णय गरेको गोपीबहादुर भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रामकृष्ण ज्ञवाली र नवीन कुइकेल, प्रदेशका सल्लाहकारहरु कोमलनाथ बराल, रवीन्द्र बास्तोला र नवराज सुवेदी लगायतले बोलेका थिए ।