नेकपाको उम्मेदवार टुंगियोः कास्कीमा विद्या उठ्ने, बागलुङमा जनमोर्चालाई सघाउने

पोखरा, कार्तिक १७ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मङ्सिर १४ को उपनिर्वाचनको उमेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की–२ का विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर–१ (क)मा देवीप्रसाद ढकाल र दाङ–३ (ख)मा विमला वलीलाई उठाउने भएको छ ।

बाग्लुङको प्रदेशसभामा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको छ । रिक्त ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको उमेदवारी भने सम्बन्धित प्रदेश कमिटीले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै आज बसेको नेकपा सचिवालयको बैठकले धरान उपमहानगरको मेयर पदमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ ।