दशैंमा पोखरालाई ५० करोडको मासु

प्रकाश ढकाल
पोखरा, असोज २४ ।
पोखरामा यसबर्षको दशैंलाई मासुको जोहो ब्यापारिले गरिसकेका छन् । दशैंमा विशेषगरि खसिबोका र भेडाच्याङग्रा बढी काटिन्छन् । यसबर्षको दशैंलाई पोखरामा मात्रै १० हजार हाराहारीमा भेडाच्याङग्रा र ८ हजारजति खसीबोका ल्याउने तयारी छ । चीन, मुस्ताङ, मुगु र डोल्पादेखि १९ हजारजति च्याङग्रा ब्यापारीले पोखरा ल्याएका छन् । च्याङग्रा ब्यापारी रमेश खड्कीका अनुसार पोखरा झरेका अधिकांश च्याङग्रा काठमाण्डौं लैजाने तयारी छ । ‘खासातिरबाट यसपालि च्याङग्रा आएको छैन । काठमाण्डौंका अधिकांश ब्यापारी पनि यतै छन्, उनले भने–मुस्ताङको च्याङग्राको माग अहिले निकै बढेको छ । धेरैजसो च्याङग्रा काठमाण्डौं जान्छ ।’

१० हजारजति च्याङग्रा काठमाण्डौं लैजाने उनको भनाई छ । यसबाहेक नारायणगढ, बुटवल लगायतका शहरमा पनि निर्यात हुन्छन् । अहिले च्याङग्राको मूल्य २८ देखि ३२ हजार रुपैयाँसम्म पर्छ । दशैंमा अत्यधिक खोजि हुने हिमाली क्षेत्रका च्याङग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन् । ‘अचेल दशैंमा च्याङग्रा किन्ने संस्कार बढी छ । बर्षभरिमा एकपटक मात्रै आउने भएकोले पनि मान्छेहरु हुरुक्कै हुन्छन्, खड्कीले भने–हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाईदाजनक हुन्छ । एकपटक दुखै गरेर भएपनि च्याङग्रा किनौं भन्ने मान्छेहरु छन् ।’

पोखरामा दशैंभरि मात्रै २७ करोड रुपैयाँ हाराहारीमा च्याङग्राको मासु विक्रि हुन्छ भने १६ करोड जति खसिबोकाको मासु विक्रि हुन्छ । यसबाहेक कुखुरा पनि झण्डै साढे ७ करोडको कारोबार हुन्छ । दशैंभरीमा ५० करोड रुपैयाँको खसीबोका, च्याङग्रा र कुखुराको मासु खपत हुने अनुमान गरिएको छ । खसीको तयारी मासु प्रतिकिलो ९ सय ८० रुपैयाँ पर्छ भने कुखुराको ३ सय रुपैयाँ प्रतिकिलो पर्छ । दशैंमा खसी च्याङग्रा बढी विक्रि भएपनि कुखुरा खानेहरु नघट्ने पोल्ट्री ब्यवसायी मञ्च कास्कीका अध्यक्ष निर्मल खत्रीले बताए ।

‘पहिले ब्रोइलर भनेपछि नाक थुन्ने चलन थियो । अहिले नभै नहुने भैसक्यो । केटाकेटीको रोजाईमा बढी पर्छ, उनले भने–दशैंमा खसी बोका किनेका घरमा पनि दिनहुँ ब्रोइलरको मासु खपत हुन्छ । तर अरु समयमा भन्दा बिक्रि चाहीँ केही कम हुन्छ ।’ उनका अनुसार दशैंमा १ लाख ८० कुखुरा विक्रि हुने अनुमान छ । यसबाहेक राँगा भैसी, बँगुर लगायत अन्य जीवजन्तुका मासु पनि विक्रि हुन्छन् । यसको ठ्याक्कै तथ्यांक पाउन मुश्किल छ ।

बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङग्रा विक्रि हुने पोखरामा ४ अर्वजति कुखुराको मासु विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोका र २५ हजार जति भेडा च्याङग्रा बेचिन्छन् भने ६६ लाख कुखुरा विक्रि हुन्छ । पोखरामा खपत हुनेमध्ये १५ प्रतिशत जति खसीबोका भारतबाट आयात हुने पोखरा खसीबोका ब्यवसायी समितिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । यसअघि ३० प्रतिशत जति खसीबोका भारतबाट आयात हुन्थ्यो । भन्सार मुल्य र खसीबोकाकै मुल्य पनि बढ्न थालेपछि अहिले नेपाली उत्पादनमा बढी जोड दिएको उनले बताए ।

‘भारतबाट आउने खसीबोकाको मुल्य नै बढी भैसक्यो । त्यसमाथी भन्सार पनि ५ सय रुपैयाँ बढ्यो, उनले भने–नेपाली उत्पादनलाई प्राथमिकता दिऔं भनेर आयात घटाएका छौं । अहिले अधिकाशंले नेपालकै खसीबोका किन्न पाउँछन् ।’ तर भारतीय खसीबोकाको आयात ठप्पै हुने अवस्था भने छैन । ‘पोखरा आसपासबाट खसीबोका खासै आउँदैनन् । कास्की, पर्वत, स्याङजा तिरका किसानले खसीबोका पाल्न छोडिसके, ब्यापारीहरु भन्छन्–भारतको माल नझारे सुखै छैन । तर जतिसक्दो कम गर्ने प्रयास भैरहेको छ ।’ दिनहूँको बसाईसराई र मासु खाने संस्कारका कारण खपत पनि बढ्दै गैरहेको उनीहरुको अनुभव छ । पोखरामा भारत सहित पश्चिम नेपालका दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्ज लगाएतका जिल्लाबाट खसीबोका आयात भैरहेको छ ।

छनौटमा ध्यान दिनुस्

चाडबाडको मौका छोपेर ब्यवसायीहरुले रोगी पशुबस्तु पनि विक्रि गर्न सक्छन् । उपभोक्ताले खरिद गर्दा स्वास्थ्य जाँच गरिएका खसीबोका र भेडाच्याङग्रा मात्रै छान्नुपर्छ । आँखा चम्किलो भएको र टाठो चौपाया मात्रै खरिद गर्न पशु चिकित्सकहरुको सुझाव छ । नाक र मुखबाट सिगान र ¥याल बगेको, पातलो दिसा गरी शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमणबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिजा र खुट्टाको खुरमा घाउ, लरखराउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा वा रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाले भुईं कोट्टयाउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका तथा च्याङग्राहरु खरिद गर्न नहुने पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले बताए ।

‘कसैले सस्तो पनि दिन खोज्छन् । त्यस्ता पशुहरुमा बढी ध्यान दिनुपर्छ । जोखेर लिदाँ ठगिनबाट जोगिन सकिन्छ, उनले भने–नाका नाकामा चिकित्सकहरुले जाँचेर प्रमाणपत्र सहित पठाएका छन् । सबैकुरा हेरेर मात्रै खरिद गर्नुपर्छ ।’ नयाँ संरचनाका कारण पोखरामा अनुगमनमा अलि समस्या देखिएको उनले बताए । यसअघि जिल्ला पशु सेवा कार्यालयले अनुगमन र आवश्यक उपचार गर्दै आएकोमा यसपालि कर्मचारी अभाव र कार्यालय समेत परिवर्तन भएकोले समस्या देखिएको छ ।