दमौलीमा युआरएलको शाखा

पोखरा, असोज ८ ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले तनहुँ सदरमुकाम दमौलीमा शाखा विस्तार गरेको छ । व्यास नगरपालिकाको अनसनचौतारीमा १ वर्षअघि स्थापना गरेको कलेक्सन सेन्टरलाई स्तरोन्नति गरी शाखा सञ्चालन गरेको हो । युआरएल दमौली शाखाको शनिबार एक समारोहबीच व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानले उद्घाटन गरे ।
मेयर न्यौपानेले आँफूहरु स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार र जनताको स्वास्थ्यमा सहज पहुँचका लागि काम गर्न लागिरहेको बताए । उनले ७० हजार जनसंख्या रहेको व्यास नगरका बासिन्दालाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा दिन युआरएलसँग सहकार्य गर्न तयार रहेकोसमेत उल्लेख गरे । मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा तीर्थलाल उपाध्यायले बेलैमा स्वास्थ्य सजगता र उपचारले परिसानी कम गराउने, पीडा बेहोर्न नपर्ने र जीवनसमेत जोगाउने बताए । उनले मधुमेह र थाइराइड रोगबाट नेपालीहरु आक्रान्त हुँदै गएकाले खानपान, व्ययाम, उपचारमा ध्यान दिन र जीवनशैली सुधार गर्न आग्रह गरे ।
युआरएलका अध्यक्ष सुशील थापाले आफूहरुले स्वास्थ्य क्षेत्रमा नागरिकै उत्तरदायित्व वहन गरेर ल्याब स्थापना र शाखा सञ्चालन गरेको बताए । उनले भने, ‘नागरिकलाई गुणस्तरीय सेवा दिन र सामाजिक उत्तरदायित्व निभाउन हामी लागिरहेका छौं ।’ थापाले सेवा जवाफदेही र समुदायले अपनत्व महसुस गर्ने गरी सञ्चालन गरिने आश्वासन दिए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विश्वकै उत्कृष्ट प्रविधि र मेसिनमार्फत् यस क्षेत्रलाई ल्याबमा आत्मनिर्भर बनाउने दिशातर्फ युआरएल लागिरहेको बताए । उनले तनहुँका बासिन्दा, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र शुभेच्छुकको साथ पाउने अपेक्षासमेत व्यक्त गरे ।