त्रिशुलीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी सुबेदीको मृत्यु
पोखरा, साउन ११ ।
शुक्रबार पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरीमा भएको दुर्घटनामा परि पोखराका एक जनाको मृत्यु भएको छ ।
गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी मधुकर सुबेदीको मृत्यु भएको हो । घटनामा अन्य २ जना सामान्य घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको वा १४ च ३७५८ नम्बरको कार अगाडिको ट्रकलाई ओभरटेक गर्ने क्रममा त्रिशुलीमा खसेको थियो ।
कारमा सवार ३ जनामध्ये २ जना पौडी खेलेर बाहिर निक्लन सफल भएका थिए । पौडी खेलेर बाहिर निक्लने ललितपुर इमाडोलका शैलेन्द राउत र चालक रामेछापका सानुवावु सुनुवार रहेका छन् ।
उनीहरु बाहिर निक्लेपछि कारमा बाँकी रहेका सुबेदीलाई प्रहरी र नेपाली सेनाको सहयोगमा बाहिर निकालिएको थियो । तर गजुरी अस्पतालमा उपचार गर्दा सुबेदीको मृत्यु भएको छ ।