तीजपछि दशैं अभियानमा नारी जागरण, पुरातन शैलिमै दशैं मनाउन सरकारको ध्यानाकर्षण !

पोखरा, असोज ८ ।
तीज भड्किलो भएको आरोपसहित त्यसलाई रोक्न देशब्यापी अभियान चलाएको नारी जागरण अभियान पोखराले दशैंलाई पनि पुरातन शैलीमै मनाउनुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

अभियानकी संयोजक अञ्जु केसीले पछिल्ला बर्षहरुमा दशैंमा मदिराको अत्यधिक सेवन हुने र समाजमा झैझगडा समेत बढेको भन्दै त्यस्ता गतिविधि रोकिनुपर्ने बताईन् ।

‘चाडबाडको मौका छोपेर कृत्रिम अभाव, कालोबजारी, मूल्यबृद्धी, कम गुणस्तरका सामान बेच्ने काम भैरहेका छन् । चोरी डकैती पनि उस्तै हुन्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सडकमा अत्यधिक चाप, सवारी साधनको तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना समेत भएका छन् । दसैंको धार्मिक, सामाजिक पक्षको जगेर्ना गर्दै सडक दुर्घटना, चोरी डकैती, भैmझगडा, कालाबजारी लगायतका विकृति हटाउनु आवश्यक छ । पर्वलाई मौलिक र सुसभ्य तवरले मनाउन र समाजमा शान्ति, सुरक्षा, अमनचयन, आपसी भाइचारा कायम गर्न सम्वद्ध सबै पक्षलाई थप जिम्मेवार र जागरुक बनाउन प्रहरी, प्रशासनसहित गण्डकी प्रदेश सरकारसमक्ष नारी जागरण अभियान पोखरा ध्यानाकर्षणसहितको हार्दिक अनुरोध गर्दछ ।’

आन्तरिक मामिला मन्त्री चुमानले कालोबजारी र अस्वस्थकर सामान विक्रि वितरण रोक्न बजार अनुगमनलाई तिब्र बनाउने बताए । उनले पर्वलाई भड्किलो हुन नदिन सरकारी पक्षबाट सतर्क गराउने बताए । प्रमुख जिल्ला अधिकारी केसीले निरन्तर बजार अनुगमन भैरहेका कारण अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता जनाए ।