जिउँदै जलाइएकी कन्चनको अस्पतालमा मृत्यु

काठमाण्डौं, बैशाख १४ ।
सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ । उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

सिरहा नगरपालिका–८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रयास थिए । कन्चनको शरीरको ५० प्रतिशत माग जलेको थियो। जलिरहेको अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए।त्यहाँ उपचार सम्भव नभएपछि सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो ।

अन्ततस् उनको अस्पतालमा भर्ना गरेको केही समयमै ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो । श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि गएको बैशाख ५ गते धनुषाको शहिदनगर नगरपालिका–१, पुरवारी टोल चिरैयाकी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । तराई क्षेत्रमा दाइजो नल्याएको तथा कम ल्याएको भन्दै महिलामाथि गम्भीर प्रकृतिका हिंसा हुने गरेका छन् ।