जब श्रीमानले श्रीमतीको फेसबुकमा अर्कैको यौन प्रस्ताव फेला पारे…..

काठमाण्डौं, साउन १२ ।
राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए । २०७६ बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो । केही दिन उनीहरु रमाइलोसँग बसे । २०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए । ससुरालीमा रहेको समयमा रमिताले श्रीमानको मोबाइलबाट आफ्नो फेसबुक खोलिन् ।

फेसबुकमा उनले ’लग आउट’ गरिनन् । भर्खरै बिहे गरेकी श्रीमतीको फेसबुकमा गाउँमै मामा भन्ने एक जनाले म्यासेज गरिरहेको र कुराकानी हुने गरेको राजले जानकारी पाए । उनीहरुको कुराकानीमा शंका लाग्यो उनलाई । शंका लागेपछि राजले उनीहरुको कुराकानीलाई पछ्याउन थाले ।

शिव कौशिक रमिताको घरमा पूजा गराउने पण्डितसमेत हुन् । उनीहरूबीचमा बिहेअघि नै सम्बन्ध रहेको आशंका राजले गरे । रमितासँगको फेसबुकमा पण्डितसमेत रहेका शिवले दुईवटा बिहेको योग परेकाले रमिता र राजबीचको सम्बन्ध टिकाउ नहुने ज्योतिषीय दाबी गरेका थिए । दुई बिहेको योग मेटाउन केही समयमा कदम चाल्नुपर्ने जानकारी उनले गराए । तर केही समय पहिले मात्र राज रमिताको चिना उनैले हेरेर उत्तम जोडी बन्ने भन्दै लगन जुराइदिएका थिए ।

केही दिन आफू माइत बसेर आउने भनेपछि राजले रमितालाई भद्रपुरमै छोडेर आफ्नो घर फर्केका थिए । राज आफ्नो घर र रमिता माइत रहेको भएपनि उनीहरुबीच कुराकानी सामान्य नै चलिरहेको थियो । रमिताको गतिविधिप्रति शंका लागेपछि राजले फेसबुक च्याटमा उनको नियमित फलो गरिरहेका थिए ।

यही बीचमा रमिता र शिवबीचको कुराकानीमा बिहे दोष मेटाउने कुराकानी भयो । रमिताले उक्त दोष मेटाउन के गर्नुपर्ने हो, आफू तयार रहेको बताइन् । उनका उक्त कुरापछि पण्डित शिवले बिहेको दोष मेटाउन बिहे अघि वा पछि परपुरुषसँग यौन सम्बन्ध राख्नुपर्ने बताए । यो उनको अप्रत्यक्ष यौन प्रस्ताव थियो ।

पण्डितको उक्त प्रस्ताव कसरी सम्भव छ भनी रमिताले जवाफ फर्काइन् । पण्डित शिवले अन्य बाहिरी मान्छेसँग यस्तो सम्बन्ध बनाउन सम्भव नभए आफैं कटाइदिन तयार रहेको बताए । पण्डितको उक्त जवाफपछि रमिताले कहाँ र कुन ठाउँमा भनी उनको प्रस्ताव स्वीकार गरिन् ।

पण्डित र रमिताबीचमा उनको माइतीमै उक्त कार्य सम्भव हुने गरी योजना बन्यो । रमिताको माइतीमा दिउँसो बाबुआमा जागिरमा जाने भएकाले उक्त स्थान सुरक्षित भएको उनीहरुको निष्कर्ष थियो । सोही कुराकानीपछि २०७६ असार ८ गते बिहान अन्दाजी सवा १० बजे रमिताको माइतीमा शिव पुगे । शिव उक्त घरमा पुग्दा रमिता मात्रै थिइन् । पण्डित र श्रीमती रमिताको कुराकानी राजले पछ्याइरहेका थिए ।

उनले ससुराली पुगेर आफूसहित अन्य केही साथमा लिएर श्रीमतीको घर पछ्याउन थाले । राज अघिल्लै दिन असार ७ गते भद्रपुर पुगेर बसेका थिए । ससुराली पुग्दा शंका हुने र श्रीमतीको योजना सफल नहुने भन्दै उनी अन्य स्थानमा बसे । बिहे गरेको दुई महिनामै श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका उनी रंगेहात पक्राउ गर्ने योजनासहित पर्खिरहे ।

असार ८ गते बिहान उनी १० बजे ससुराली नजिकै पुगे र नजिकै चिहाएर बसे । सासु–ससुरा जागिरमा हिडेलगत्तै पण्डित शिव उक्त घरमा प्रवेश गरे । शिव घरमा पसेको पाँच मिनेटपछि राज उक्त घरमा छिरे । बन्द ढोकाभित्र यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा उनीहरुलाई फेला पारे राजले ।

१०र१२ जना मानिसको टोलीसहित ससुराली पुगेका राज आफ्नी श्रीमती नाङ्गै परपुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको देखेपछि प्रहरीलाई खबर गरे ।

राजलाई विद्युत्तीय कारोबार र पण्डितलाई बलात्कार मुद्दा

सामाजिक सञ्जाल फेसबुकले खोलेको यो रहस्यमय घटनापछि हाल बलात्कार र विद्युत्तीय कारोबारमा दुई मुद्दा चलिरहेको छ । उक्त घटनापछि राजले रमितालाई अस्वीकार गरेर पण्डित शिवलाई जिम्मा लगाए । गाउँलेसहितको टोलीले शिवलाई जिम्मा लगाएपछि रमिता चुप बसिनन् ।

पण्डित शिवले आफूमात्र भएको समयमा घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिइन् । उनको उक्त जाहेरीका आधारमा हाल झापा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा विचाराधीन छ ।

दुई महिनामै बिहे समाप्त भएपछि रमिताले श्रीमान विरुद्ध पनि जाहेरी दिइन् । श्रीमान राजले आफ्नो फेसबुक दुरुपयोग गर्दै अनधिकृत रुपमा चलाएर बलात्कारसम्म र्पुयाएको भन्दै विद्युत्तीय कारोबार ऐन अन्तर्गत कारबाहीको माग गर्दै रमिताले जाहेरी दिइन् ।

उक्त मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सुनुवाई गर्दै राज अधिकारीलाई २५ हजार धरौटीमा छोडेको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युत्तीय कारोबार ऐन अनुसार उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

अदालतमा रमिताले आफ्नो फेसबुक चलाएर दुरुपयोग गरी फसाएको आरोप राजमाथि लगाएपनि राजले भने आफू ससुराली पुग्दा पण्डित शिव घरभित्र प्रवेश गरेको पाएको र खोजी गर्दा अश्लील क्रियाकलापमा संलग्न रहेको पाएको बयान दिएका छन् ।

तर रमिताले भने राजले आफ्नो फेसबुकबाट शिवसँग जाहेरवाला बनेर अश्लील, यौन उत्तेजनात्मक भाषाशैलीमा च्याट गरी कुराकानी गरिरहेको जस्तो भान पारेको दाबी गरेकी छन् । षडयन्त्रमूलक ढङ्गबाट कुराकानी गरी विद्युतीय माध्यमको दुरूपयोग गरी सामाजिक सञ्जालबाट विवाहित महिलाको चरित्रहत्या गरी राजले विद्युतीय अपराध गरेको दाबी रमिताको छ ।

रमिताले यसबाट आफूले उचित क्षतिपूर्ति र राजलाई कानून बमोजिम कारबाही गर्नुपर्ने माग गरेकी छन् । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी संहिता अनुसार राजले अपराध गरेको वा अपराधमा संलग्न नभएको प्रमाण नभएको भन्दै धरौटी माग गर्ने आदेश गरेको छ ।

जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पण्डित शिवलाई झिकाएर बयान गराउने समेत आदेश गरेको छ । अर्को सुनुवाई अघि शिवको बयान गराउनु पर्नेछ ।
यो समाचार सामग्रीमा प्रयोग भएका सबै व्यक्तिका नाम गोपनीयतका कारण परिवर्तन गरिएका हुन् । नेपाललाईभका लागि दुर्गा दुलालले समाचार लेखेका हुन् ।